अस्पतालमै खाने बस्ने व्यवस्था गर्न स्वास्थ्यकर्मीको माग

चैत्र १२, २०७६ | विराटनगर

– विराटनगरस्थित कोशी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा चिकित्सकहरुले नोबेल कोरोना भाइरसका बिरामीको उपचारमा खटिनका लागि व्यक्तिगत सुरक्षा सामग्री र परीक्षणका लागि स्वाब लिने किटको अभाव भएको बताएका छन् । उनीहरुले चिकित्सकलगायत स्वास्थ्यकर्मीहरु बिरामीको उपचारमा खटिएकाले कोरोना संक्रमणको उच्च जोखिममा रहेको र घर जाँदा परिवारका अन्य सदस्यहरु पनि त्यसको जोखिममा पर्ने भएकाले अस्पतालमै २४ घण्टा बस्ने व्यवस्था गर्न माग गरेका हुन् । अस्पतालमा कार्यरत स्वास्थ्कर्मीहरु नोवेल कोरोना भाइरसको शंकास्पद बिरामी उपचारमा र आइसोलेसनमा खटिदा व्यक्तिगत सुरक्षात्मक सामग्री नभएको भन्दै आन्दोलनमा उत्रेका छन् ।

उनीहरुले बिरामीको उपचारमा खटिदा अस्पताल प्रशासनले एउटा मास्कसम्म उपलब्ध गराउन नसकेको अबस्थामा काम गर्न नसकिने भन्दै आन्दोलनमा उत्रेका हुन् । बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले अस्पतालमै खान, बस्नेसहितको क्वारेन्टाइनको व्यवस्था गर्न माग गरेका छन् ।

स्टाफ नर्स बिन्दु शिवाकोटीले अस्पतालमा बिरामीको स्वास्थ्य उपचारमा खटिएका स्वास्थ्यमकर्मी नै कोरोना भाइरस संक्रमणको उच्च जोखिममा भएको बताउनुभयो । अस्पतालमा दैनिक ३० जना बढी उच्च ज्वरो र रुघाखोकीका बिरामी उपचारका लागि आउने गरेको उहाँको भनाई छ । एक जना पनि कोरोनाको संक्रमित बिरामी फेला परे यस अस्पतालका सबैमा फैलिने उच्च जोखिम रहेको उहाँको भनाई थियो ।

आफूहरुलाई अस्पतालले व्यक्तिगत सुरक्षा सामग्री उपलब्ध नगराएकाले घर परिवारका अन्य सदस्य पनि उच्च जोखिममा रहेको अर्की स्टाफ नर्स अञ्जु खनालले बताउनुभयो । कोशी अस्पतालमा कोरोना भाइरसका बिरामीको उपचारका संलग्न चिकित्सको नेतृत्व गरिरहेका डा. लक्ष्मीनारायण यादवले आफूहरुलाई अस्पतालमै २४ घण्टा बस्ने व्यवस्था गर्नुपर्ने माग गर्नुभयो । अस्पतालमा प्रत्याप्त व्यक्तिगत सुरुक्षा सामग्री नरहेकाले पनि समस्या भएको उहाँको भनाई थियो । 

प्रदेश सरकारले उपलब्ध गराएको व्यक्तिगत सुरक्षा सामग्री टाइप एक ८ र टाइप दुई १५ वटा रहेको र त्यो सबै चिकित्सकहरुलाई बितरण गरिसकिएको अस्पताल प्रशासनले जनाएको छ । कोशी अस्पतालस्थित आइसोलेसन वार्डमा एक जना कोरोना भाइरसको शंकास्पद बिरामीको उपचार भइरहेको छ भने दुई जनालाई होम क्वारेन्टाइनमा पठाइसकिएको डा. यादवले बताउनुभयो । एक जना संक्रमितको उपचारमा खटिनका लागि न्यूनतम १२ वटा व्यक्तिगत सुरक्षा उपकरण आवश्यक भएको उहाँको भनाई थियो । विराटनगरका ठूला नोबेल मेडिकल कलेज, विराट मेडिकल कलेजलगायतका अस्पतालमा चिकित्सकलगायत स्वास्थ्यकर्मीहरुले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा सामग्रीको अभाव छ । कोरोना भाइरसका शंकास्पद बिरामीको स्वाव परीक्षणका लागि स्वाव संकलन गर्ने भाइरल ट्रान्सपोर्ट मिडिया (भिटिएम) को समेत अभाव रहेको छ ।

एम्बुलेन्स चालकहरुलाई समेत आवश्यक व्यक्तिगत सुरक्षा सामग्री उपलब्ध नगराइएकाले उनीहरु पनि संक्रमणको उच्च जोखिममा छन् ।

संयूक्त एम्बुलेन्स चालक संघ नेपालका केन्द्रिय सदस्य चन्द्र पराजुलीले आफूहरुले मास्क, सेनिटाइजर लगाएर एम्बुलेन्स चलाइरहेको बताउनुभयो ।

प्रदेश १ का सामाजिक विकास मन्त्रालयका जन स्वास्थ्य महाशाखा प्रमुख सुरेश मेहताले प्रदेशभरिका सरकारी अस्पतालहरुमा व्यक्तिगत सुरक्षा सामग्रीलगायतका सामग्री उपलब्ध गराएको दावी गर्नुभयो । मन्त्रालयमा भएको दुई सय थान व्यक्तिगत सुरक्षात्मक उपकरण मध्ये केही राखेर बाँकी १४ वटै जिल्लास्थित अस्पतालहरुलाई उपलब्ध गराइएको उहाँको भनाई थियो । 


प्रतिक्रिया