परिवारका सबै आइसोलेशन र क्वारेन्टाइनमा

चैत्र १५, २०७६ | बिर्तामोड

ज्वरो र रुघाखोकी देखिएपछि झापाको एकै परिवारका दुई जना आइसोलेशनमा तथा ६ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ । भद्रपुर नगरपालिका–३ का ती परिवारका दुई जना आज मेची अञ्चल अस्पतालस्थित आइसोलेसन वार्डमा भर्ना भएका हुन् । 

परिवारका अन्य ६ जनालाई होम क्वारेन्टाइनमा राखेको वडाध्यक्ष कमला थुलुङले जानकारी दिनुभयो । ती परिवारका एक जना दुई साता अघि कतारबाट घर फर्किएका थिए । कतारबाट फर्किएका व्यक्ति दुई सातासम्म परिवारसँग घरमै बसेका थिए । 

उनीसहित परिवारका सबैलाई ज्वरो र रुघाखोकीको समस्या देखिएको छ । उनीहरुमध्ये कतारबाट फर्किएका व्यक्तिका बुबा र भाईलाई ज्वरो र रुघाखोकी बढी देखिएकोले आइसोलेशनमा राखेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.पिताम्बर ठाकुरले जानकारी दिनुभयो । एकै परिवारका ६ जनालाई भद्रपुरको कलवलगुडीस्थित क्वारेन्टाइनमा राख्न गाह्रो हुने भएपछि होम क्वारेन्टाइनमा राख्नेगरी घरमा नै फर्काएको थुलुङले बताउनुभयो ।

मेची अञ्चल अस्पतालस्थित आइसोलेसन वार्डमा शनिबार एकैदिन चार जना भर्ना भएका छन् । भद्रपुर–३ का दुई बाबुछोरा र कनकाई नगरपालिका ७ का दुई जना आइसोलेसनमा भर्ना भएका हुन् । कनकाईस्थित क्वारेन्टाइनमा बस्दै आएका दुई जनाको स्वास्थ्यमा सुधार बिग्रिन थालेपछि कोरोना संक्रमण भए/नभएबारे जाँचका लागि आइसोलेसनमा भर्ना भएको डा.ठाकुरले बताउनुभयो । 

उनीहरु चारै जनाको थ्रोट स्वाब परिक्षणको तयारी गरिरहेको ठाकुरले बताउनुभयो । उहाँले भन्नुभयो, ‘तर, लकडाउनका कारण हवाई तथा यातायात सेवा ठप्प रहेकाले परीक्षणका लागि स्वाब काठमाडौं पठाउन गाह्रो भइरहेको छ ।’ 


प्रतिक्रिया