विदेशबाट फर्किनेको घरमा रातो संकेत

चैत्र १६, २०७६ | काँकडभिट्टा

झापाको मेचीनगर नगरपालिकाले भारत तथा तेस्रो मुलुकबाट फर्किएकाहरुको घरमा रातो संकेत पोत्ने काम शुरु गरेको छ । विदेशबाट फर्किएकाहरुको पहिचान पश्चात उनीहरुको घरमा रातो संकेत पोत्न शुरु गरेको हो ।

नगरका मेयर विमल आचार्यले विदेशवाट आएको भन्ने पहिचानका लागि यस्तो अभियान शुरु गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘जसको घरमा रातो रंगको संकेत छ, सम्झिनुस् त्यो घरको कुनै न कुनै सदस्य भर्खरै विदेशवाट फर्किएको छ ।’

विदेशवाट फर्किएकाहरुलाई कोरोना भाइरसको संक्रमण देखिन थालेपछि सर्वसाधारणको सचेतनाका लागि त्यस्तो अभियान शुरु गरिएको मेयर आचार्यले जानकारी दिनुभयो । गत फागुन २२ गते यता मेचीनगर नगरपालिकाभित्र १ सय ६४ जना भारतलगायत तेस्रो मुलुकबाट फर्किएको पाइएको छ । ती सबैको घरमा रातो संकेत पोत्ने काम शुरु भएको हो । 

मेयर आचार्यले भने, ‘रातो रंग लगाएका घरमा मान्छे होम क्वारेन्टाइनमा छन् भन्ने संकेत पनि हो, यसो गर्दा अनुगमनका साथै स्वास्थ्यकर्मी र सुरक्षाकर्मी परिचालन गर्न पनि सजिलो हुनेछ ।’

नगरका सामाजिक शाखा प्रमुख अनन्तप्रकाश वस्तीका अनुसार २०७६ फागुन २२ यतादेखि मेचीनगर नगरपालिकाभित्र अहिलेसम्म भारतलगायत तेस्रो मुलुकबाट १ सय ६४ जना फर्किएका छन् । जसमध्ये सवैभन्दा बढी भारतबाट १ सय २३ जना छन् । युएईबाट १९, कतारबाट ७, साउदी अरवबाट ६, मलेसियाबाट ४, अमेरिकाबाट २ तथा इजरायल, बहराइन र कतारबाट १/१ जना छन् ।

उनीहरु अधिकांश होम क्वारेन्टाइनमा छन् । कतिपय वडानम्बर ७ को सतिघट्टा, ११ को घाइजन, वडानम्बर ३ को पशुपति माध्यमिक विद्यालय र वडा नम्बर ४ को सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टाइनमा छन् ।

नगरपालिकाले कोरोना संक्रमणको उच्च जोखिममा रहेका ज्येष्ठ नागरिकको सुरक्षा संवेदनशिलतालाई ध्यान दिदै उनीहरुको समेत तथ्यांक संकलन शुरु गरेको छ । नगरका १५ वटै वडामा ५ हजार ३ सय ४७ जना जेष्ठ नागरिक छन् । 


प्रतिक्रिया