प्रदेश ५ सरकारद्वारा स्थानीय तहलाई १३ करोड अनुदान

वैशाख ३, २०७७ | बुटवल

प्रदेश ५ सरकारले प्रदेशका स्थानीय तहलाई कोरोना विशेष अनुदान दिने निर्णय गरेको छ । बुधबार बिहान बसेको प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले स्थानीय तहलाई कोरोना विशेष अनुदान दिने निर्णय गरेको हो । मन्त्रिपरिषद बैठकले प्रदेशका बुटवल, घोराही र तुलसीपुर उपमहानगरपालिकालाई २० लाख रुपैयाँका दरले अनुदान दिर्ने निर्णय गरेको छ । 

साथै सीमावर्ती नेपालगञ्ज उपमहानगरपालिकालाई २५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । अर्को मुख्य नाका रहेको रुपन्देहीको सिद्धार्थनगर नगरपालिकालाई पनि २० लाख रुपैयाँ दिने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहाकार शेर बहादुर केसीले बताउनुभयो । 

उहाँका अनुसार प्रदेश भित्रका अन्य ३१ नगरपालिकालाई १५ लाख रुपैयाँ दरले उपलब्ध गराइने छ । साथै प्रदेशका ७३ गाउँपालिकालाई १० लाख रुपैयाँका दरले उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रदेशका १२ वटा जिल्ला समन्वय समितिलाई ५ लाख रुपैयाँका दरले दिने निर्णय भएको सल्लाहाकार केसीले बताउनुभयो । जिल्ला समन्वय समितिको अनुगमनको कामलाई प्रभावकारी तुल्याउने निर्णय गरिएको छ । समन्वय समितिले प्रदेशसभाका सदस्यलाई अनुगमनमा अनिवार्य सहभागी गराउनु पर्ने निर्णय गरेको छ । 

प्रदेशका कुल स्थानीय तह र समन्वय समितिलाई गरी १३ करोड ६० लाख रुपैयाँ अनुदान दिइएको केसीले बताउनुभयो । प्राप्त अनुदान स्थानीय तहले सञ्चालन गरेको कोरोना भाइरस नियन्त्रण तथा राहत कोषमा जम्मा गरेर खर्च गर्नुपर्नेछ ।


प्रतिक्रिया