कीर्तिपुर क्रिकेट रंगशालाको स्तरोन्नतीका काम छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशन
माघ २३, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रंगशालाको तोकिएको समयमा पूर्वाधार निर्माण सम्पन्न हुने गरी तीव्रताका साथ काम गर्न शहरी विकास मन्त्रालयलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रालयका विषयमा आज ब्रिफिङ लिँदै प्रधानमन्त्री ओलीले कीर्तिपुर क्रिकेट रंगशालालाई अन्तर्राष्ट्रियस्तरको बनाउने कार्यलाई छिटो अघि बढाउन निर्देशन दिनुुभएको हो ।
प्रधानमन्त्री ओलीले पद बहालीका क्रममा ३ सय दिनभित्र सो रंगशालाको स्तरोन्नति गर्ने निर्णय लिनुुभएको थियो । रंगशालामा प्यारापिट र ल्फडलाइट निर्माणका लागि मन्त्रालयले आव्हान गरेको बोलपत्रबमोजिम मूल्याङ्कनको चरण सकिन लागेकाले चाँडै ठेक्का सम्झौता हुने प्रधानमन्त्रीलाई अवगत गराइएको थियो । प्रधानमन्त्री ओलीले यस चरणको काम जारी हुँदै अर्को चरणको निर्माणको कामका लागि सम्झौता प्रक्रिया अघि बढाउन पनि आग्रह गर्नुभयो ।
बैठकमा हरेक जेठ १५ मा संसदमा बजेट आउने हुँदा नयाँ आर्थिक वर्ष सुरु भए देखि नै तदारुकताका साथ बजेट र कार्यक्रमको कार्यान्वयन हुनुपर्नेमा ढिलाइ हुने आम प्रवृत्तिप्रति प्रधानमन्त्री ओलीले चिन्ता व्यक्त गर्नुभएको हो ।