पोखरामा अवैध रुपमा काटिएका बर–पिपलका काठ जफत
माघ २३, २०८१ | पोखरा
कास्कीको पोखरा महानगर क्षेत्रका बर पिपल तथा समीका रुख अवैध रुपमा कटान गरी जम्मा गरिएको काठ महानगरपालिकाले जफत गरेको छ । मानव सेवा फाउन्डेसनले अवैध रुपमा चौतारोका रुख काटेर लेकसाइडस्थित नेपाल ट्रस्टको जग्गामा थुपारेका काठ महानगर प्रहरीले जफत गरेको हो ।
आगामी बैशाख १७ देखि जेठ २६ गतेसम्म लेकसाइडमा हुने भनिएको कोटिहोमका लागि फाउन्डेसनले स्थानीय टोल विकास संस्थाको मात्रै अनुमतिमा चौताराका रुप कटान गरेको थियो । फाउन्डेसनले पोखराका विभिन्न वडाबाट काठ संकलन गरेको थियो । बर, पिपल, समी र चौतारा संरक्षण ऐन, २०७५ ले चौतारा संरक्षणको दायित्व, काटछाँटका लागि पूरा गर्नुपर्ने प्रक्रियाको जिम्मा स्थानीय तहलाई दिएको छ ।
सार्वजनिक स्थानको जोखिमयुक्त रुख हटाउने प्रबन्ध वन ऐन र नियमावलीमा पनि छ । ऐनमा बर, पिपल, समी र चौतारो काट्नु, मास्नु वा हटाउनुपूर्व अध्ययन तथा सिफारिस समितिको सिफारिसका आधारमा मात्रै गर्नुपर्ने प्रावधान छ ।
स्थानीय तहको प्रमुख वा अध्यक्ष वा निजले तोकेको वडाध्यक्ष संयोजक रहने समितिमा डिभिजनल वन अधिकृत वा प्रतिनिधि, सम्बन्धित वडाका वडाध्यक्ष वा सदस्य, सम्बन्धित आयोजनाको प्रमुख सदस्य र स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहने व्यवस्था ऐनमा छ । तर, मानव सेवा फाउन्डेसनले स्थानीय टोल विकास संस्थासँगको मौखिक सहमतिमा माघ ५ देखि चौतारा काट्न सुरु गरेका थिए ।
पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले कोटिहोमका लागि हालसम्म कसैले अनुमति नलिएको बताउनुभयो । पर्यटकीय नगरी पोखराको बीचमा डेढ–दुई महिनासम्म चल्ने कोटिहोमका लागि महानगरले अनुमति दिन नसक्ने उहाँले बताउनुभयो । फाउन्डेसनले भने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अनुमति लिएको बताएको छ ।