प्रदेश १ सरकारसँग अस्पताल र जनशक्तिको तथ्यांक नै छैन

वैशाख ३, २०७७ | मोरङ

कोरोना भाइरसको संक्रमण फैलिन नदिन प्रदेश सरकारले सम्पूर्ण तयारी गरिसकेको भन्दै मुख्यमन्त्री तथा मन्त्रीहरुले भाषण गर्दै आएका छन् । तर, हालसम्म प्रदेश १ मा सरकारी तथा निजी अस्पताल संख्या, त्यसमा कार्यरत जनशक्ति र उपकरणको बारेमा कुनै तथ्यांक नभएको अवस्था छ । 

प्रदेश सरकार सो तथ्यांक संकलन गर्नेतर्फ गम्भीर पनि देखिएको छैन । प्रदेश सरकारले स्थापना गरेको कोरोना जनसुरक्षा कोष र मन्त्रालयहरुको बजेट सिध्याउने खेलमा केन्द्रित देखिएको छ । स्वास्थ्य क्षेत्र हेर्ने जिम्मेवारी पाएका प्रदेश १ का सामाजिक विकास मन्त्रालयले हालसम्म तथ्यांक तयार गर्न नसक्नुले पनि कोरोना संक्रमितको उपचारमा प्रदेश सरकारको संवेदनशीलता उजागर हुन्छ । 

सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहताले आफूलाई अनेकौं जिम्मेवारी दिएकाले तथ्यांकको बारेमा भन्न नसकिने बताउनुभयो । प्रदेशमा भएको अस्पताल, जनशक्ति, ल्याब, उपकरण लगायत बारेमा मन्त्रालयका कर्मचारी ओमप्रकाश यादवसँग सम्पर्क गर्न मेहताले बताउनुभयो ।

यादव र मेहतासँग एक हप्तादेखि अस्पताल, स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्ति, उपकरण, ल्याब लगायतको बारेमा जानकारी माग गर्दै आएपनि तथ्यांक तयार हुन अझै केही दिन लाग्ने बुधबार जानकारी दिनुभयो । यादवले २/३ जना कर्मचारी तथ्यांक तयारीमा लागेको तर, त्यही कर्मचारीलाई अन्य काममा पनि मन्त्रालयले खटाउने गरेकाले हालसम्म तयार हुन नसकेको बताउनुभयो ।

‘सरकारी अस्पतालको तथ्यांक छ तर, त्यसमा कार्यरत जनशक्तीमध्ये चिकित्सक, नर्स, स्वास्थ्यकर्मीको छुट्टाछुट्टै तथ्यांक निकाल्न समय लाग्छ,’ उहाँले भन्नुभयो, ‘निजी अस्पतालको बारेमा आफूहरुलाई हालसम्म केही जानकारी छैन ।’

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले आफ्नो मन्त्रालयमा प्रदेशस्थित अस्पताल, जनशक्ति, ल्याब, उपकरण लगायतको तथ्यांक तयार रहेको दाबी गर्नुभयो । उहाँले मन्त्रालयमा कर्मचारीहरुसँग सम्पर्क गरेर तथ्यांक लिन सञ्चारकर्मीहरुलाई आग्रह गर्नुभयो । तर, कर्मचारीहरुले तथ्यांक नभएको बताउँदै आएका छन् ।

प्रदेश सरकारले कोरोना रोकथामका लागि हालसम्म गरेको खर्च समेत सार्वजनिक गरेको छैन । कोरोना रोकथाम, नियन्त्रण, उपचार र राहत वितरणका लागि स्थानीय तहलाई ९ करोड ५० लाख बजेट प्रदान गरेको छ । कोशी अस्पताललाई आइसोलेसन वार्ड निर्माणका लागि २५ लाख बजेट दिएको मात्रै हालसम्म बाहिर आएको छ ।

कोरोना भाइरसको संक्रमितको उपचार गर्न प्रदेश सरकारले १० भेन्टिलेटर सहितको ५० शैय्याको कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याएको छ । जीर्ण अवस्थामा रहेको नेशनल ट्रेडिङ भवनमा प्रदेश सरकारले विशेष अस्पताल सञ्चालनमा ल्याएको १३ दिन बितिसक्दा पनि हालसम्म दुई वटा भेण्टिलेटर बाहेक अरु व्यवस्थापन हुन सकेको छ । अस्पताल सञ्चालनमा आएको पनि आवश्यक उपकरण र दक्ष जनशक्तिको अभाव छ । 

सो अस्पताल निर्माणमा कति खर्च लागेको बारेमा समेत प्रदेश सरकार मौन छ । पटक पटक प्रदेश सरकारसँग अस्पताल सञ्चालनमा ल्याउन लागेको खर्चको बारेमा सोध्दा समेत हालसम्म जानकारी गराउने तर्फ चासो देखाएको छैन । उक्त अस्पताल निर्माणमा सामाजिक विकास मन्त्रालय, संघीय मामिला तथा कानून मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र विराटनगर महानगरपालिकाले बजेट जुटाएर खर्च गरेको छ ।

कोरोना भाइरसको संक्रमित पुष्टि भएकालाई मात्रै यो अस्पतालमा राखेर उपचार गरिने व्यवस्था गरेको छ । कोरोना संक्रमितको अबस्था हेरी सघन उपचार केन्द्रमा राखेर उपचार गर्नु पर्ने हुन्छ । तर, अस्पताल सञ्चालनमा आएको दुई साता बित्न लाग्दा समेत इन्टुबेटिङ भिडियो स्कोप, ग्लुकोमिटर, एचडी मेशिन, सीआरआरटी उपकरणको व्यवस्था हुन सकेको छैन । यस्तै, आइसीयू डेटिकेटेड अल्ट्रासाउण्ड र इको मेसिन, अक्सिमेट्री, आइए ब्यालुन पम्प र फाइब्रोप्टिक ब्रोन्स्कोप, भ्याकुम, इन्टयुभेसन सेट लगायत उपकरणको समेत व्यवस्थापन हुन सकेको छैन ।

अस्पताल सञ्चालनको जिम्मेवारी प्रदेश सरकारले कोशी अस्पताललाई दिएको छ । तर दक्ष जनशक्तिको समेत हालसम्म व्यवस्थापन हुन सकेको छैन । आइसीयू हेर्ने दक्ष नर्स तथा चिकित्सकको अभाव छ । आइसीयू सम्बन्धी एक जना मात्रै दक्ष चिकित्सक छ । कोरोना संक्रमित बिरामीको उपचारका लागि एक सिफटमा ३० जना स्वास्थ्यकर्मी तथा चिकित्सक आवश्यक हुन्छ । तर अहिलेसम्ममा १० जनाको मात्रै व्यवस्थापन हुन सकेको छ ।

कोशी अस्पतालका मेडिकल सुपरिडेण्टेण्ट डा. संगीता मिश्राले प्रदेश सरकारले कोरोना विशेष अस्पताल सञ्चालनको जिम्मेवारी दिएकाले त्यसका लागि जनशक्ति तथा उपकरणको व्यवस्थापनको तयारी भईरहेको बताउनुभयो । ‘प्रदेश सरकारले उपकरण तथा जनशक्ति व्यवस्थापनका लागि पहल गरिरहेको छ,’ उहाँले भन्नुभयो, ‘सक्दो छिटो उपकरण र जनशक्तिको व्यवस्थापन भइदिए राम्रो हुन थियो ।’

चिकित्सकहरुले उपकरण र जनशक्ति व्यवस्था हुन नसकेको भन्दै आए पनि प्रदेश सरकारले भने जनशक्ति र उपकरणको अभाव नभएको दाबी गर्दै आएको छ । प्रदेश एकमा हालसम्म कोरोना भाइरसको संक्रिमत फेला परेको छैन । संक्रमित फेला परिसकेपछि स्थिति सम्हाल्ने तयारी प्रदेश सरकारको भाषणमा मात्रै सीमित छ ।

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेशमा जनशक्ति र उपकरणको अभाव नभएको दाबी गर्नुभयो । ‘६० जना स्वास्थ्यकर्मी करारमा भर्ना गर्ने प्रक्रिया सञ्चालन गरिसकेको र उपकरणको पनि व्यवस्थापनमा जुटेका छौं,’ उहाँले भन्नुभयो, ‘अस्पताल सञ्चालनमा आए पनि हालसम्म एक जना पनि कोरोना संक्रमित यस प्रदेशमा फेला परिनसकेकाले त्रसित भइहाल्ने अवस्था छैन ।’ 


प्रतिक्रिया