बर्दियाको ठाकुरबाबा नगरपालिकाको २ नम्बर वडामा सिल

वैशाख १२, २०७७ | बर्दिया

बर्दियासँग जोडिएको भारत उत्तरप्रदेश राज्यको बहराईच जिल्लामा एक नेपाली सहित आठ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उच्च सर्तकता अपनाइएको छ । 

कोरोना संक्रमित देखिएका बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर २ को भएको पुष्टि भएपछि स्थानीय प्रशासनले शुक्रबार बिहानबाट सिल गरेको छ । पुरै वडा सिल गरी आउजाउ पूर्णरुपमा प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताउनुभयो । 

उनीसँगै उनका भाई भारतको कानपुरमा लकडाउन अघि मजदुरी गर्न गएका थिए । भाई भने गत चैत ६ गते घर फर्किए पनि दाज्यु नेपाल–भारत सिमाना बन्द भएपछि आउन पाएका थिएनन् । बहराइचमा रहेको क्वारेन्टाइनमा नमूना परीक्षण गर्दा बुधबार कोरोना पोजेटिभ देखिएको प्रमुख जिल्ला अधिकारी लामिछानेले जानकारी दिनुभयो । 

वडा सिल गरी उनका भाइको आरडीटी र स्वाब परीक्षणका लागि बिहानै स्वास्थ्य टोली पठाइएको छ । परीक्षणको रिर्पोट नआए सम्म उक्त वडामा पूर्णरुपमा सिल गरिएको छ । रिर्पोट नेगेटिभ आए सिल खुकुलो पार्दे जाने स्थानीय प्रशासनले जनाएको छ । ठाकुरद्धारा नगरपालिका भित्र औषधि बाहेक सबै पसल बन्द गरिएको छ । 

सुरक्षा निकाय र एम्बुलेन्स बाहेकका सवारी साधन चलेका छैनन् । अहिले जिल्लाभर उच्च सतर्कता अपनाउँदै लकडाउनलाई कडा पारिएको स्थानीय प्रशासनले जनाएको छ । भारतीय सञ्चार माध्यमका अनुसार बहराईचमा एकै पटक आठ जनालाई कोरोना पोजेटिभ भेटिएको पहिलो हो । उनीहरुको ट्रभाल हिस्ट्री लिने काम भई जनाइएको छ । ती मध्ये कोरोना पोजेटिभ भएका दुई जना बर्दिया स्थित पुलमा काम गरेर घर फर्केका भारतीय भएको प्रहरीले जनाएको छ ।

रुपैडिहास्थित सेल्टर क्वारेन्टाईनमा तीन जना नेपालीको नमूना परीक्षण गर्दा एक जनालाई कोरोना पोजेटिभ देखिएको हो । उनी लगायत ५० जनालाई बहराईच स्थित जिल्ला अस्पतालमा रिफर गरिएको लखनउस्थित एक प्रहरी अधिकारीले बताए । 

यसैगरी, सिमावर्ती भारतको मिहीपुरुवास्थित बालिका विद्यालयमा नौ जना नेपालीलाई क्वारेन्टाइनमा राखिएको छ । नौ जना कर्णाली र प्रदेश ५ का नागरिक हुन् । उनीहरुको नमूना परीक्षण गर्दा नेगेटिभ देखिएको छ । 

सिमावर्ती भारतीय जिल्ला बहराईचमा कोरोना भाइरस संक्रमित देखिएपछि भारतसँग जोडिएको सिमानामा उच्च सर्तक रहन स्थानीय प्रशासनले सुरक्षाकर्मीलाई निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी लामिछानेले भारतबाट घुसपैठ रोक्न सुरक्षा निकायलाई चनाखो भएर सिमामा थप कडाई गर्न निर्देशन दिएका छन् । 


प्रतिक्रिया