लुम्बिनीमा राजीनामा दिएको १५ दिनपछि पुन मन्त्रीको सपथ

वैशाख २४, २०८१ | काठमाडौं

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सहमति पालना नगरेको भन्दै मन्त्री पदबाट राजीनामा दिएका जनता समाजवादी पार्टीका सांसद भण्डारीलाल अहिरले पुनः कृषि तथा भूमि व्यवस्था मन्त्रीको पदभार ग्रहण गर्नुभएको छ ।

केन्द्रमा पार्टी विभाजन भएपछि अशोक राई नेतृत्वको पार्टीमा लागेर उहाँले सोही मन्त्रालयमा आज पदभार ग्रहण गर्नुभएको हो । गत चैत २३ गते विना विभागीय मन्त्री बन्नुभएका अहिरलाई वैशाख ६ गते मुख्यमन्त्री महराले कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिनुभएको थियो ।

मन्त्री भएको तीन दिनमा ९ गते पदबाट राजीनामा दिएर सरकारबाट बाहिरिनु भएको थियो । महराको नेतृत्वमा सरकार गठन गर्दा चैत २२ गते जसपालाई दुई मन्त्रालय दिने ७ बुँदे लिखित सहमति भएको थियोे ।

गत वैशाख ६ गते सात सदस्यीय मन्त्रीमण्डल विस्तार गर्दा जसपाबाट थप एक जना मन्त्री नथपिएपछि मुख्यमन्त्रीले सहमति पालना नगरेको भन्दै अहिरले पदबाट राजीनामा दिनुभएको थियो । 


प्रतिक्रिया