हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न गृहको तीनबुँदे निर्देशन जारी

वैशाख २४, २०८१ | काठमाडौं

गृहमन्त्रालयले हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न तीनबुँदे निर्देशन जारी गरेको छ ।

अनुसन्धान वा अभियोजनका लागि पक्राउ परेका व्यक्तिले चिकित्सकीय सिफारिसको सहायतामा हिरासत छल्न अस्पताल भर्ना हुने प्रवृत्ति बढेपछि त्यसलाई केही कडाई गर्न गृहले निर्देशन जारी गरेको हो । गृहले आज यसबारे तीनबुँदे निर्देशन जारी गरेको छ ।

गृहको निर्देशनअनुसार शारीरिक एवं मानसिक रुपमा अस्वस्थ भएको अवस्था र दीर्घरोगीहरुले अस्पतालमै बसेर उपचार गर्नुपर्ने अवस्थामा मात्र अस्पताल लैजानुपर्नेछ ।

अस्पताल लग्नुपर्ने विकल्पको रुपमा हिरासतमा नै सरकारी अस्पताल अथवा नेपाल मेडिकल काउन्सिल दर्ता चिकित्सकले परीक्षण गरेर अस्पताल राख्नु पर्ने÷नपर्ने सम्बन्धमा निर्णय गर्ने गृहको निर्देशनमा उल्लेख छ ।

प्रहरीको नियन्त्रणमा रहेका व्यक्तिलाई चिकित्सकीय सहायता उपलव्ध गराउने हालको कानूनीप्रबन्ध र अभ्यासलाई बस्तुगत, तथ्यपूर्ण र विश्वसनीय बनाउन मन्त्रालयले चैत १३ गते नेपाल मेडिकल काउन्सिललाई अध्ययन गरी रायसहितको प्रतिवेदनदिन अनुरोध गरेको थियो ।

काउन्सिलले वैशाख २३ गते बुझाएको प्रतिवेदनकाआधारमा गृह मन्त्रालयले ३ बुँदे निर्णय गरेको हो।  


प्रतिक्रिया