साउदीबाट ४१ दिन अघि नेपाल आएका थिए भोजपुरका कोरोना संक्रमित

वैशाख १२, २०७७ | सुनसरी

सुनसरीको धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण गर्दा कोराना भाईरसको संक्रमण पुष्टि भएका भोजपुर हतुवागढीका युवा विभिन्न चार जिल्ला घुमेको पाइएको छ । गत फागुन ३० गते साउदीबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएका उनी रात्रीबसमा चैत १ गते सुनसरीको झुम्का पुगेका थिए । 

बराहक्षेत्रको चतरामा श्रीमतीलाई भेटेर उनी धरान, इटहरीका विभिन्न ठाउँमा ८ दिन सम्म घुमेका थिए । चैत्र ९ गते मात्र उनी उदयपुरको मैनामैनीस्थित ससुराली घर पुगेर भोजपुरको हतुवागढी साविक होमताङस्थित घर पुगेका थिए । 

उनी सुनसरीको विभिन्न ठाउँ घुमेको तथ्य खुलेपछि ती व्यक्तिको सम्पर्ककम आएको अन्यको कन्ट्याक्ट ट्रेसिङको तयारी भईरहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले बताउनुभयो । ती युवा भोजपुर हतुवागढीकै आईसोलेसन वार्डमा राखिएका छन् ।

प्रजिअ पौडेलले भन्नुभयो, ‘ती युवाको पोजेटिभ रिपोट हिजो बिहीबार बेलुका मात्र आएकाले शुक्रबार जिल्लाको क्राईसिस मेनेजमेन्ट मिटिङ बसेर कन्ट्याक्ट ट्र्रेसिङ सुरु गर्ने भएका छौं ।’ कन्ट्याक्ट ट्रेसिङमा पहिले सोझै पुगेका स्थानहरु, उनी बसेको ठाउं ससुराली घर लगायत पहिचान गरेर त्यहाँका व्यक्तिहरुको स्वाब परीक्षण गरिने प्रजिअ पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘उसको कारण कोरोना भाईरसको संक्रमण जोखिम भएका व्यक्तिहरु पहिचान गरेर स्वास्थ्य संस्थासम्म पुर्‍याउनु जरुरी छ ।’

साउदीबाट फर्किएको ४१ औं दिनमा कोरोना पोजेटिभ देखिएका युवामा यस अघि किन लक्षण देखिएन भन्ने बारे वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको माईक्रोबाईलोजी विभागका मोलीकुलर पीसीआर विशेषज्ञ डा. नारायणराज भट्टराईले यो रोग नयाँ रोग भएकाले यकिन साथ भन्न नसकिने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘उतैबाट संक्रमित भएर आएको या नेपाल आएपछि संक्रमित भयो अनुसन्धान नगरी केही भन्न सकिने अवस्था छैन । तीनको एन्टीबडी टेष्ट पनि पोजेटिभ नै देखिएको छ । पीसीआर गर्दा पनि कोरोना पोजेटिभ देखिएको छ ।’ 

लामो समयपछि पनि कोरोना पोजेटिभ देखिनुका पछाडि ती व्यक्तिको जेनेटिक प्रतिरोधात्मक क्षमतामा पनि भर पर्ने र हिडेन फर्ममा कोरोनाको भाईरस थोरै मात्रामा शरीर भित्र रहन सक्ने भएकाले पनि पीसीआर परीक्षणमा देखिएको हुन सक्ने डा. भट्टराईले बताउनुभयो । 


प्रतिक्रिया