कोरोना रोकथाम र उपचारलाई लिएर उपकुलपति र मेयरवीच विवाद

वैशाख १३, २०७७ | सुनसरी

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्न वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानका उपकुलपति गैरजिम्मेवार भएको आरोप धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले लगाएकाछन् ।

धरान उपमहानगर र आसपासका छिमेकी स्थानीय तहरुमा कोरोना भाइरस नियन्त्रण र रोकथाम गर्न प्रतिष्ठानका उपकुलपति प्रा डा ज्ञानेन्द्र गिरिले असहयोग मात्र नगरी उपमहानगरसंग समन्वयनै नगरेको प्रमुख राईले आरोप लगाउनुभयो । प्रतिष्ठानका सिनेट सदस्य समेत रहेका उहाँले उपकुलपति डा गिरिले कोरोनाको वहानामा प्रतिष्ठानमा खेलाँची गरेको समेत आरोप लगाउनुभयो । 

उहाँले भन्नुभयो, ‘केही दिन अघि उदयपुरबाट ८ जना संक्रमितको स्वाब परीक्षण गर्न प्रतिष्ठान ल्याइएको थियो । यसरी संक्रमित व्यक्ति प्रतिष्ठानमा ल्याउँदा उपकुलपति गिरीले कसैलाई जानकारी समेत दिएनन् । प्रतिष्ठानमै कार्यरत चिकित्सक नर्सहरुलाई समेत जानकारी दिएनन् । 

उपकुलपति गिरिको यस्तो रवैयाले प्रतिष्ठान क्षेत्र र समग्र धरानमा संक्रमणको खतरा बढेको छ ।’ उदयपुरबाट कोरोना भेरिफीकेशनका लागि भनेर थ्रोट स्वाव मात्र ल्याउनु पर्नेमा पुर्व तयारी विना आठजना संक्रमितलाई एक्कासी प्रतिष्ठानमा ल्याइएको थियो ।

उपकुलपति डा. गिरिले प्रतिष्ठानमा उचित व्यवस्थापन र समन्वय नगरेका कारण धरान नै उच्च जोखिममा पर्न लागेको आरोप लगाउँदै धरान उपमहानगर प्रमुख राईले धरानमा कोरोनाको जोखिम बढेमा प्रतिष्ठानका उपकुलपतिगिरीले जवाफदेहिता बहन गर्नुपर्ने बताउनुभयो ।

कोरोना संक्रमित ल्याउदा उचित व्यबस्थापन नगरेको कारण प्रतिष्ठानमा कार्यरत नर्स, चिकित्सक जोखिममा परेको र प्रतिष्ठानमा खटिएका प्रहरी जवानलाई समेत हाल क्वारेन्टाइनमा राखिएको प्रमुख राईले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कोरोना संक्रमण फैलन नदिन धरान उपमहानगरले प्रतिष्ठानसंग सहकार्य, समन्वयका लागि आवश्यक सल्लाह गर्न पटक पटक सम्पर्क गर्दा समेत वेवास्ता गरे, फोन समेत उठाएनन् ।’

धरानका प्रमुख राईले लगाएको आरोप प्रतिउपकुलपति डा गिरिसंग फोन सम्पर्क गर्दा उठाएनन् । भर्खरै उपकुलपतिमा नियुक्त भएका डा. गिरिले प्रतिष्ठान भित्र कोरोना ऱ्यापिड रेस्पोन्स टिमका सदस्यहरुले गरेको फोन समेत उठाउने गरेका छैनन् । 

प्रतिष्ठानका एक बरिष्ठ प्राध्यापकले भने, ‘स्थानीयतहको मेयरसंग विवाद गर्नु भन्दा एकापसमा छलफल गरेर काम गर्नुमै उपकुलपतिको भलाई छ ।’ 


प्रतिक्रिया