भारतीय क्वारेन्टाइनमा ३० नेपाली

वैशाख २४, २०७७ | बर्दिया

बर्दियासँग जोडिएको भारत सिमाना उत्तरप्रदेश राज्यको बहराईच जिल्लाको मिहीपुरुवा स्थित विभिन्न चार वटा विद्यालयको क्वारेन्टाईनमा करीब एक महिना देखि तीस जना नेपाली बस्दै आएका छन् । ती मध्ये १२ जनाको पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ देखिएको छ । 

रिपोर्ट नेगेटिभ देखिएपनि उनीहरु भने नेपाल फर्कने वातावरण नभएका कारण क्वारेन्टाईनमा रहेको स्थानीय सञ्चारकर्मी सतिश कुमारले बताए । उनीहरु करीब एक महिना अघि लखनउबाट हिँडेर नानपारा आएका थिए । नानपारामा भारतीय सुरक्षा अधिकारीले उनीहरुलाई मिहीपुरुवास्थित क्वारेन्टाईनमा पठाएका थिए । 

१२ जना मध्ये बर्दियाका दुई बाहेक प्युठान, सल्यान लगायत जिल्लाका छन् । तीन दिन अघि दैलेख, सुर्खेत, तनहुँ, स्यांङजा लगायत जिल्लाका १८ जना लखनउ, दिल्ली र मुम्बईबाट रुपैडिहा तर्फ जान लाग्दा भारतीय प्रहरीले नानपाराबाट नियन्त्रणमा लिई मिहीपुरुवा स्थित क्वारेन्टाइनमा पठाएको छ । 

मिहीपुरुवा स्थित कस्तुरवा बालिका विद्यालय, नवयुग ईन्टर कलेज, सर्वोदय महाविद्यालय र लिटिल एन्जेल्स विद्यालयमा राखिएको सञ्चारकर्मी कुमारले जानकारी दिए । क्वारेन्टाइनमा स्वास्थ्य परीक्षण गरेकाको रिर्पोट नेगेटिभ आएपनि स्वदेश फर्कन नपाउ‘दा कष्टकर जीवन बिताउन बाध्य भएको उनीहरुको गुनासो छ ।

नेपालीहरु करीब ३/४ सय किलोमिटर हिँडेर, त कतै ट्रक चढेर आएको बताएका छन् । १८ जनाको पीसीआर गरिएको छैन । सम्भवत बिहीबार मात्रै उनीहरुको पीसीआर विधिबाट परीक्षण गरिने भएको छ । क्वारेन्टाईनमा एक महिला सहित सबै पुरुष रहेका छन् । 

नेपाली महिलासँगै उनका श्रीमान् क्वारेन्टाइनमा रहेका छन् । उनीहरुले नेपाल सरकारले स्वदेश फिर्ता गरी त्यहीको क्वारेन्टाइनमा राख्न भारतीय अधिकारीसँग माग गरेका छन् । उनीहरुले आफ्नो माग छिमेकी जिल्ला बर्दिया प्रशासनसम्म पुर्‍याई दिन भारतीय अधिकारीलाई आग्रह गरेका छन् । भारतको मिहीपुरुवा सदरमुकाम गुलरियाबाट करीब ३० किलोमिटर दक्षिण पूर्वमा पर्दछ । 

यस्तै, गुलरिया नगरपालिका–३ का दुई महिला र एक पुरुष मिहीपुरुवास्थित क्वारेन्टाइनमा बसेर सिमावर्ती सलारपुरमा आएका छन् । सलालपुर भारतीय गाउ‘बाट उनीहरु घर फर्कन नपाएपछि त्यहाँका ग्राम पञ्चायतले दुई रात खाने र बस्ने व्यवस्था गरेका थिए । लामो समय सम्म खाने, बस्ने व्यवस्था गर्न असम्भव भएपछि उनीहरुले बर्दिया आएर पुन क्वारेन्टाइनमा बस्न नगर प्रमुख मुक्ती नाथ यादव संग आग्रह गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले सीमा नाका बन्द भएकोले जोसुकै भएपनि स्थिति साम्य नभएसम्म बर्दिया ल्याउन नमिल्ने बताउनुभयो । यसैबीच, गुलरियासँग जोडिएको भारतीय नाका चित्तलहवा हुँदै १९ वर्षीय एक युवक भित्रिएका छन् । सुरक्षाकर्मीलाई छल्दै आएका गुलरिया–८ का १९ वर्षीय ती युवालाई आइसोलेशनमा राखिएको छ । 

बुधबार बिहान भारतको कानपुरबाट आएका एक नेपालीलाई एसएसबीले गुलरिया पस्न नदिई फिर्ता पठाएको छ । उनले नेपाली दूतावासबाट नेपाल प्रवेश गर्ने पत्र लिएर आएपनि एसएसबीले बर्दिया–बहराईच जिल्लाका डीएम र केन्द्रीय सरकारको अनुमति नआएसम्म प्रवेश गर्न दिन नमिल्ने बताएको प्रहरी स्रोतले बतायो । 


प्रतिक्रिया