सुदूरपश्चिममा थोरै कीट आईपुग्यो, परीक्षण सुरु

वैशाख २७, २०७७ | धनगढी

सुदूरपश्चिम प्रदेशमा कीट अभाव भएपछि रोकिएको कोरोना परीक्षण शनिबारबाट पुन: सुरु भएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका प्रमुख डा. गुणराज अवस्थीले शुक्रबार राति ३ सय ८४ वटा आरएनए एक्पेक्सन कीट प्राप्त भएसँगै आजबाट पुन: कोरोना परीक्षण सुरु गरिएको बताउनुभयो । 

‘धनगढी र नेपालगञ्जका लागि हेलिकप्टरबाट थोरै परिमाण ल्याईएको हो’ उहाँले भन्नुभयो, ‘यसले रोकिएको परीक्षणलाई सुरु गर्न मद्दत पुगेको छ ।’ कीटको अभावमा विभिन्न जिल्लाबाट संकलन गरिएको ५० भन्दा बढीको थ्रोट स्वाबको नमूना परीक्षण गर्न समस्या भएको थियो ।

‘शंकास्पद बिरामीको तत्काल परीक्षणका लागि मात्रै कीट पुगेको हो, उहाँले भन्नुभयो, ‘आरडीटी लगायत थप सामग्रीहरु आगामी शुक्रबारसम्म आईपुग्छ होला ।’ निर्देशनालयका प्रमुख डा. अवस्थीले केन्द्रमै परीक्षण कीट तथा आवश्यक सामग्री अभाव भएकाले पर्याप्त मात्रामा उपलब्ध हुन नसकेको बताउनुभयो । यसअघि धनगढीको पशु अन्वेषण प्रयोगशाला स्थापना गरिएको आरटी पीसीआर मेसिन मार्फत हुने कोरोना परीक्षण कीट अभावको कारण दुईदिन यता रोकिएको थियो । 

प्रदेशको समाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्र कार्कीले परीक्षणका लागि चाहिने कीट आईपुगेसँगै परीक्षणलाई तीब्रता दिने बताउनुभयो । सुदूरपश्चिममा कोरोनाको उच्च जोखिम क्षेत्र मानेर सरकारले धनगढीमा प्रयोगशाला स्थापना गरेको भएपनि कीट र नमूना पर्याप्त भण्डारण गर्ने क्षमता नहुँदा परीक्षणलाई तीब्रता दिन सकिएको छैन । 

हालसम्म सुदूरपश्चिममा पीसीआरबाट २ हजार ९ सय २३ र आरडीटी विधिबाट १४ हजार ६ सय ९१ जनाको परीक्षण गरिएको छ । अहिले सम्मको परीक्षणबाट ५ जनालाई कोरोना संक्रमण देखिएको थियो । पाँचै जना सेती प्रादेशिक अस्पतालमा उपचारपछि घर फर्किसकेका छन् । 

संक्रमितहरु निको भएर घर फर्केसँगै सुदूरपश्चिममा अहिलेलाई कोरोना नभएपनि क्वारेन्टाईनमा बसेकाहरुको परीक्षण नगर्दासम्म जोखिम कायमै रहेको कार्कीले बताउनुभयो । पछिल्लो समयमा क्वारेन्टाईनमा रहेका ३ हजार ५ सय ७३ जनाको परीक्षण गर्न बाँकी रहेको छ । 


प्रतिक्रिया