अर्घाखाँची अनिश्चितकालका लागि सिल

वैशाख ३०, २०७७ | अर्घाखाँची

छिमेकी जिल्ला कपिलवस्तुमा कोरोना संक्रमणको संख्या बढ्दै गएपछि अर्घाखाँची उच्च जोखिममा रहेकाले मंगलवार बिहानै देखि प्रशासनले जिल्लालाई अनिश्चितकालका लागि सिल गरेको छ । अर्घाखाँचीसँग सीमा जोडिएका कपिलवस्तुका विभिन्न क्षेत्रमा संक्रमण देखिएपछि सुरक्षा समितिको बैठकले नयाँ निर्णय गर्दै आवतजावतमा प्रतिबन्ध लगाइएको हो ।

कपिलवस्तुबाट अर्घाखाँची आउने पैदल यात्रु र अत्यावश्यक बाहेक अन्य गाडीलाई भित्रिन नदिन सन्धिखर्क–गोरुसिंगे सडकखण्ड अन्तर्गत सीमा क्षेत्र पथ्थरकोट र सीमा जोडिएका अन्य ठाउँमा बिहानै देखि व्यापक प्रहरी परिचालन गरेको छ । 

शीतगंगा नगरपालिकाको कपिलवस्तुसँग सीमा जोडिएका गाउँमा स्वयंसेवक परिचालन भएका छन् । कपिलवस्तुमा संक्रमणको संख्या बढ्दै गएपछि अर्घाखाँची उच्च जोखिममा रहयो, सतर्कता अपनाउन आउजाउ पूर्ण रुपमा रोक्ने, लकडाउन प्रभावकारी बनाउने र सीमा क्षेत्रमा कडाई गर्ने निर्णय गरेको सूचना अधिकारी विष्णुराज बेल्वासेले बताउनुभयो । 

मुख्य बाटो छलेर जंगलबाट आउने सम्भावना भएकाले नाकामा व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरिएको उहाँले बताउनुभयो । साथै पाल्पा, गुल्मी र प्युठानका सीमा क्षेत्रमा पनि निगरानी गरिएको छ । अत्यावश्यक बाहेक अरु गाडीलाई आउजाउमा पास नदिने पनि उहाँले जानकारी दिनुभयो । 


प्रतिक्रिया