गौरिफन्टा नाकाबाट सुदूरपश्चिमका १८ हजार नेपाल भित्रिए

जेष्ठ १४, २०७७ | धनगढी

भारतसँगको मुख्य सीमा नाका कैलालीको धनगढीस्थित गौरिफन्टा हुँदै पछिल्लो पटक सुदूरपश्चिमका नौ वटै जिल्लाका गरी १८ हजार बढी नेपाल भित्रिएका छन् । 

जेठ २ेदेखि १३ गतेसम्म गौरिफन्टा नाकाबाट भित्रिएका कुल १९ हजार २ सय ९३ जनामध्ये १८ हजार १ सय ६६ जना सुदूरपश्चिमका रहेको सशस्त्र प्रहरीको धनगढीस्थित ३४ नम्बर गणले लिएको तथ्यांकमा उल्लेख छ । सुदूरपश्चिमका बासिन्दाहरुमध्ये कैलाली र कञ्चनपुर बाहेक सात पहाडी जिल्लाका ११ हजार ५८१ जना रहेका छन् ।

पहाडी जिल्लामध्ये डोटीका सबैभन्दा धेरै छन् । ३ हजार ५३३ जना भारतका विभिन्न ठाउँमा बस्दै आएकाहरु डोटी पुगेका छन् । त्यसपछि बैतडीका बासिन्दाको संख्या धेरै छ । बैतडीका २ हजार ८ सय १४ जना भित्रिएका छन् । डडेलधुराका १ हजार ८ सय ५६ जना आएको तथ्यांक छ । अछामका १ हजार २ सय ९१ जना, बझाङका १ हजार १४ जना, बाजुराका ८ सय ३२ र सबैभन्दा कम दार्चुलाका २ सय १५ जना रहेका छन् ।

गौरिफन्टा नाकाबाट भित्रिएकाहरुमा कैलालीका सबैभन्दा धेरै छन् । ४ हजार ३५१ जना कैलालीका बासिन्दा रहेको गणका एसपी कमल तिमिल्सिनाले बताउनुभयो । यस्तै, कञ्चनपुरका २ हजार २ सय ३४ जना रहेको सशस्त्र प्रहरीको गणले जनाएको छ । 

सीमा खुला गरिएपछि पछिल्लो पटक ४९ जिल्लाका बासिन्दाहरु गौरिफन्टा सीमा नाकाबाट भित्रिएका छन् । पहाडी जिल्लामा भित्रिएकाहरुलाई सम्बन्धित स्थानीय तहले आफैले सवारी साधनहरु पठाएर पालिकाहरुमा ल्यायाई रहेका छन् । 

‘हाम्रा सवारी चालकहरुले सुत्न नपाएको धेरै दिन भइसक्यो’ डोटीको दिपायल शिलगढी नगरपालिकाकी प्रमखु मञ्जु मलासीले भन्नुभयो, ‘गौरिफन्टाबाट हाम्रो पालिकाका बासिन्दालाई ल्याएर सम्बन्धित वडाका क्वारेन्टाइनमा राख्ने गरेका छौं ।’


प्रतिक्रिया