बागलुङका ६ जनामा कोरोना संक्रमण पुष्टि

जेष्ठ १४, २०७७ | बागलुङ, पोखरा

एकसाता अघि भारतबाट आएका बागलुङका ६ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ । तमानखोला गाउँपालिकाका ४ जना र बडिगाड गाउँपालिकाका २ जनामा कोरोना संक्रमण देखिएको हो । 

एक साता अघि उनीहरु भारतबाट आएर सुनौलीमा अलपत्र थिए । गाउँपालिका र जिल्ला संकट व्यवस्थापन केन्द्रले उद्दार गरेर उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो । साता अघि आएका मध्ये ८ जनालाई तमानखोला गाउँपालिकाले वडा नं. ३ को धनगौज्योती मावि क्वारेन्टाइनमा राखिएको अध्यक्ष जोकलाल बुढाले बताउनुभयो । 

८ जना मध्ये ४ जनामा कोरोना संक्रमण देखिएपछि उनीहरुलाई धौलागिरी अञ्चल अस्पतालको आइसोलेसन कक्षमा राखिएको छ । चार महिना अघि मात्र रोजगारी खोज्न भारत गएका सबै युवा ३० वर्ष उमेर समूहका छन् । भारत पुगेको एक महिनामै लकडाउन भएपछि रोजगारी नपाएर फर्कन खोजेका थिए । उनीहरु लामो समय सम्म बोर्डरमा बस्नुपरेपछि त्यही संक्रमण भएको हुन सक्ने उनले अनुमान गरे ।

मंगलबारै संक्रमण देखिएका बडिगाड गाउँपालिकाका २ जना वडा नं. २ को त्रिभुवन माविमा राखिएका युवा हुन् । जेठ ९ गते भारतबाट आएकालाई क्वारेन्टाइनमा राखिएको थियो । उक्त विद्यालयमा दुई पटक आएका गरी ५२ जनालाई राखिएको गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजाले बताउनुभयो ।

 ‘संक्रमण भयो भनिएकाहरु स्वस्थ्य छन्, बिहान खेली रहेका थिए’ पाइजाले भन्नुभयो, ‘८ जनाको परीक्षण गरिएकोमा २ जनाको संक्रमण भएको देखियो ।’ बाँकी ६ जनाको नेगेटिभ देखिएपनि थप दुई जनालाई हल्का ज्वरो आएकोले थप परीक्षण गर्न भनेको उहाँले बताउनुभयो । 

गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा.बिनोदबिन्दु शर्माले कोरोना संक्रमणको पुष्टि गर्दै केही बेरमा प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गर्ने बताउनुभयो । 


प्रतिक्रिया