रौतहटमा क्वारेन्टाईमा बसेका थप ३५ जना संक्रमण पुष्टि

जेष्ठ १४, २०७७ | रौतहट

रौतहटमा बुधबार थप ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ५ पुगेको छ । तीन जना निको भएका छन् । भारतमा लकडाउन खुकुलो भएँसगै नेपाल फर्किनेहरु लर्को लागेसँगै कोरोना संक्रमितको संख्या बढ्दो छ । 

भारतबाट फर्केर चन्द्रपुर नगरपालिकाको क्वारेन्टाईनमा बसेकाहरुमा ७ जनामा संक्रमण देखिएको हो । उनीहरु सबै गढीमाई नगरपालिकाका बासीन्दा हुन् । त्यस्तै गौर नगरपालिकामा ८, ईशनाथ नगरपालिकामा १६, देबाहीगोनाहीमा २, र कटहरिया नगरपालिकाका २ जनामा संक्रमण देखिएको प्रमुख जिल्ला अधिकारी बासुदेब घिमिरले बताउनुभयो ।

 ‘उनीहरु सबै भारतबाट आएका हुन् । सबैको स्वास्थ्य अवस्था समान्य छ, उहाँले भन्नुभयो, ‘संक्रमण देखिएकाहरुलाई कहाँको आईसोलेसनमा राख्ने भन्ने छलफल हुँदै छ ।’ प्रजिअ घिमिरेका अनुसार चार दिन भित्र जिल्लामा ८३ जनामा सक्रमण पुष्टि भएको छ । उनीहरु भारतबाट आएर क्वारेन्टाईनमा बसेका थिए । अहिले सीमाबाट नेपाल भित्रिनेको संख्या दिनहुँ बढ्दै गएको छ । यसरी आएकाहरुमा संक्रमित हुने गरेको पाईएको छ । 

प्रदेश २ का अधिकांश जिल्लाहरु भारतसँग सीमा जोडिएको हुँदा घर फर्किने नेपालीको संख्या सर्वाधिक छ । कोरोना महामारीबीच विभिन्न माध्यमले स्वदेश फर्किने नेपाली कामदारहरु सीमामा पुगेपछि १४ दिन क्वारेन्टाईनमा बस्नुपर्ने बाध्यता छ । यसरी फर्केकाहरु सँगै संक्रमितको संख्या पनि जिल्लामा पछिल्लो एक सातामा ह्वात्तै बढेको जिल्ला प्रशासन कार्यालय गौरले जनाएको छ

लकडाउन सुरु भएपछि नेपालबाट भारत घर फर्कने भारतीयहरुलाई नेपाली क्वारेन्टाइनमै राखेर स्वास्थ्य परीक्षण गर्ने र भारतमा भएका नेपालीलाई त्यही क्वारेन्टाइन गर्ने नीति सरकारको थियो । तर, बैशाख ३० गतेपछि भारतबाट नेपाल आउने नेपालीलाई सीमानाका भएरै स्वदेश फर्किने व्यवस्था मिलाइएको थियो । त्यसरी आएकाहरुलाई सुरक्षाकर्मीले सिधै क्वारेन्टाईनमा लैजाने गरेको छ ।

सीमाबाट भित्रिनेहरु जुन स्थानीय तहका हुन् । तीनलाई सोही स्थानीय तहमा जनप्रतिनिधिको जिम्मा लगाई स्वास्थ्य परीक्षण र क्वारेन्टाइनमा बस्न लगाइएको प्रजिअ घिमिरले बताउनुभयो । अहिले जिल्लाको विभिन्न क्वारेन्टाईनमा भारतबाट फर्केकाहरु झण्डै ३ हजारको हाराहारीमा छन् । 

उनीहरु अधिकांशको स्वाब संकलन भएको छैन् । जिल्लामा अहिले सम्म पुष्टि भएका अधिकाश भारतबाट फर्केका नेपाली हुन् । पछिल्लो समय भारतका विभिन्न राज्यमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गएपछि उनीहरु घर फर्किएर क्वारेन्टाईनमा बसेका छन् । 


प्रतिक्रिया