कोरोनाबाट बच्न स्वदेश फर्किए, घर नपुग्दै मृत्यु

जेष्ठ १४, २०७७ | सुर्खेत

विश्वव्यापी कोरोना संक्रमण बढ्दै गएपछि भारतबाट घर फर्केका एक युवकको घर नपुग्दै मृत्यु भएको छ । चिङ्गाड गाउँपालिका–३, अवलचिङका २२ वर्षीय वीरेन्द्र रोकायाको मंगलबार राति प्रदेश अस्पतालमा मृत्यु भएको हो । 

रोकाया गत माघमा काम गर्ने र उपचार पनि गर्ने भन्दै भारतको गुजरात पुगे । कर्णाली प्रदेश अस्पतालले मंगलबार राति करीब १२ बजे उनको मृत्यु भएको जनाएको छ । अस्पताल निर्देशक डा. डम्बर खड्काले मृतकमा अन्य स्वास्थ्य समस्या रहेको र स्वाब परीक्षण रिपोर्टपछि मृत्युको कारण खुल्ने बताउनुभयो । कोरोना नदेखिएमा शवको पोष्टमार्टम गरिने उहाँको भनाइ छ ।

रोकायाका आफन्तले कष्टपूर्ण यात्रा, खानपानको कमी र समयमै उपचार नपाउँदा मृत्यु भएको बताएका छन् । गुजरातबाट उनीसँगै आएका मामा नाता पर्ने अवलचिङका हरि खत्रीका अनुसार उनीहरु आइतबार बिहान हिँडेका थिए । 

भारतमा यात्रा गर्दासम्म ठाउँठाउँमा फलफूल र खानाको व्यवस्था भएपनि नेपाल प्रवेश गरेपछि भने खाना र पानी समेत नपाएको उनले बताए । उनका अनुसार उनीहरु चढेको बस बबईको उकालोमा पुगेपछि रोकायाले बान्ता गरेका थिए । त्यसपछि भेरी पुल नजिक आएपछि भने मुखबाट फिँज छोड्यो । हातखट्टा बाउँडिए भनेर लत्र्याकलत्रुक पर्‍यो । तैपनि सुर्खेत उपत्यका नजिक आएकोले उनमा उपचार होला भन्ने आशा जागेको थियो । 

‘सुब्बाकुनामा अरु बस पनि लाइन लागेका थिए, त्यसैले मैले प्रहरीका असईलाई गएर बिरामीको समस्या सुनाएँ, आफै पनि ठाउँठाउँमा सम्पर्क गरेर एम्बुलेन्स बोलाएँ,’ उनले भने, ‘तर सम्पर्कमा आएका दुई–तीन वटा एम्बुलेन्सले पनि आउन मानेनन्, मुस्किलले आधा घण्टामा एउटा गाडीमा अस्पताल पुर्‍यायौं ।’ रोकायामा ज्वरो र खोकी भने नदेखिएको उनले बताए ।

राति करिब ११ बजे प्रदेश अस्पतालमा पुगेपछि झन् लापरबाही भयो । बिरामीलाई इमरजेन्सी वार्डको ढोकामा पुर्‍याएको आधा घण्टासम्म पनि स्वास्थ्यकर्मी नजिक आएनन् । ‘मैले बिरामीलाई हेरिदिनुहोस् भन्दै हात जोडेर अनुनय गरेँ, ठाउँठाउँमा फोन गरेर हेरिदिनको लागि दवाव पनि दिएँ,’ उनले भने, ‘सुरुमा त मलाई ‘तपाइँ बाहिर जानुस्’ भन्दै उल्टै झपारे, धेरै ढिलो गरी डाक्टरले हेर्न त हेरे, तर मृत्यु भइसकेको भनेर जवाफ दिए ।’

खत्रीले बबईमै सरकारले क्वारेन्टाइन वा ‘स्क्रिनिङ’ सेन्टर बनाइदिएको भए भान्जालाई सजिलै बचाउन सकिने अवस्था रहेको बताए । मंगलबार दिउँसो भारतीय नाका रुपैडियाबाट हिँड्ने बित्तिकै बिरामले च्यापे पनि बबईमा चेकजाँच र उपचार हुन्छ भन्ने आशले अघि बढेको उनको भनाइ छ । ‘बबईमा आएपछि न चेकजाँच भयो, न त उपचारै पाइयो,’ उनले भने, ‘बरु भारतमा हुँदा अलिअलि खाना, पानी पाएका थियौं,’ उनले भने, ‘आफ्नै देश र प्रदेशमा आएछि भने पराई भूमिमा आएजस्तो भयो ।’


प्रतिक्रिया