प्रतिपक्षीको अवरोधपछि सुदूरपश्चिम प्रदेशको प्रदेशसभा बैठक स्थगित

जेष्ठ १४, २०७७ | धनगढी

सुदूरपश्चिम प्रदेशको बुधबारको प्रदेश सभा बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्यको अवरोधपछि बैठक स्थगित गरिएको हो । 

मंगलबारको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले सम्बोधनका क्रममा लिपुलेक, लिम्पियाधुरालाई विवादित भूमि भन्ने शब्द प्रयोग गरेको भन्दै कांग्रेस र जनता समाजवादीका प्रदेशसभा सदस्यले बैठकमा अवरोध गरेका थिए । प्रतिपक्षी सांसदहरुले नाराबाजी गरेपछि सभामुख अर्जुनबहादुर थापाले बैठक स्थगित भएको घोषणा गर्नुभएको हो ।

बजेट अधिवेशन सुरु भएको पहिलो दिनदेखि नै झमेला उत्पन्न भएको हो । मंगलबार सुरु भएको बजेट अधिवेशनमा पहिलो दिनको बैठकमा सम्बोधनका क्रममा मन्त्री झपट बोहराले मन्तब्यका क्रममा ‘लिपुलेक लिम्पियाधुरा र कालापानी क्षेत्रलाई विवादित क्षेत्र’ भन्ने शब्द उल्लेख गरेपछि सत्तारुढ दलकै सांसद दीर्घ सोडारीले आपत्ति जनाएका थिए । 

सांसद सोडारीको माग अनुसार सभामुखले उक्त शब्द रेकर्डबाट हटाउन लगाएका थिए । बुधबारको बैठक सुरु भए लगत्तै विवादित भूमि भनेकोमा मन्त्रीले माफी माग्नुपर्ने माग सहित प्रतिपक्षी दलले प्रदेश सभाको बैठक अवरोध गरेका हुन् । 

कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोबिन्दराज बोहराले मन्त्रीको अभिव्यक्ति सरकारकै अभिव्यक्तिका रुपमा रहने भएकोले मन्त्रीले माफी माग्नु पर्ने बताउनुभयो । 


प्रतिक्रिया