कर्णालीमा थप १५ मा कोरोना संक्रमण, प्रदेशले माग्यो सेना परिचालनको स्वीकृति

जेष्ठ १४, २०७७ | सुर्खेत

कर्णाली प्रदेशमा थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भारतबाट आएर क्वारेन्टाइमा बसेका उनीहरु सबै सुर्खेतका हुन् । योसँगै कर्णालीमा संक्रमितको संख्या ३८ पुगेको छ ।

कर्णाली प्रदेश अस्पतालका अस्पताल निर्देशक डा. डम्बर खड्काले संक्रमितमध्ये १० जनालाई मेहलकुनास्थित अस्पतालमा पठाउने र बाँकीलाई प्रदेश अस्पतालमै राख्ने तयारी भइरहेको बताउनुभयो । 

 उहाँका अनुसार मंगलबार राति मृत्यु भएका एक युवाको स्वाब परीक्षणमा भने कोरोना देखिएको छैन । बाथ रोगका बिरामी २२ वर्षीय ती युवाललाई बाटोमै रोगले च्यापेपछि प्रदेश अस्पताल लगिएको थियो । अस्पतालले राति करिब १२ बजे मृत घोषणा गरेको थियो ।

यसैबीच, कर्णाली प्रदेश सरकारले कोरोना नियन्त्रण र रोकथामको लागि सेना परिचालन गर्न स्वीकृतिको लागि नेपाल सरकारसँग अनुरोध गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णयसहित सहयोग मागेको सरकारकी प्रवक्ता विमला केसीले बताउनुभयो । 

‘विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को कारणबाट रोजगारी गुमाएका र महामारीबाट त्रसित भई भारतबाट ठूलो नेपाली नागरिकहरु स्वदेश फर्किने क्रम जारी रहेकोले यसबाट प्रदेशमा महामारी झन् फैलिन थालेको छ,’ मन्त्री केसीद्वारा जारी प्रेस नोटमा भनिएको छ ।

सशस्त्र प्रहरी बल र नेपाल प्रहरी सुरक्षा सम्बन्धी अन्य कार्यहरुमा समेत खटिनुपर्ने हुँदा महामारीबाट प्रभावित र संक्रमित नागरिकको उद्धार तथा क्वारेन्टाइन व्यवस्थापनमा समस्या हुने देखिएकोले यस कार्यका लागि सेना समेत परिचालन गर्नुपर्ने स्थितिमा सोको लागि नेपाल सरकारसँग अनुरोध गर्ने निर्णय गरिएको मन्त्री केसीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया