झापाका २७ संक्रमितलाई मन्त्रीले अस्पताल भर्ना गराए

जेष्ठ १७, २०७७ | बिर्तामोड
रातभर गेट बाहिर राखिएका झापाका २७ जना कोरोना संक्रमितलाई प्रदेश १ सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरेले शनिबार बिहान ९ बजे अस्पतालमा भर्ना गराएका छन् ।
मन्त्री घिमिरे धरान पुगेर संक्रमितहरुलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गराएका हुन् । शुक्रबार कोभिड–१९ पुष्टि भएका जिल्लाका २७ जना संक्रमितलाई गएराति ११ बजेतिर धरान पुर्याइएको थियो ।
उनीहरुलाई सामाजिक विकास मन्त्रालयको समन्वयमा धरान पठाएको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिनुभयो । तर, धरानस्थित कोभिड अस्पतालले राख्ने ठाउँ नभएको भन्दै भर्ना नलिएपछि संक्रमितहरु रातभर गेट बाहिरै बसेका थिए ।
जिल्लामा कोभिड संक्रमितको संख्या १ सय ७ पुगेको छ । उनीहरुमध्ये कचनकवल गाउँपालिकामा मात्र एक सय जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमित २ जना उपचार पछि घर फर्किएका छन् भने १ सय ५ जना उपचाररत छन् । उनीहरुमध्ये १० जनाको विराटनगर तथा ९५ जनाको धरानस्थित कोभिड अस्पतालमा उपचार भइरहेको छ ।
सम्बन्धित समाचार :