कोशी अस्पतालको पीसीआर मेसिन बिग्रिंदा झापामा स्वाब संकलन रोकियो

जेष्ठ १९, २०७७ | बिर्तामोड

मोरङको विराटनगरस्थित कोशी अस्पतालको पीसीआर परीक्षण गर्ने मेसिन बिग्रिएको छ । मेसिन बिग्रिंदा झापामा स्वाब नमूना संकलन गर्ने कार्य रोकिएको छ । 

कोशी अस्पतालमा रहेको पीसीआर मेसिन गएराति (आइतबार) बिग्रिएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला प्रमुख जयवेन्द्र यादवले जानकारी दिनुभयो । पीसीआर परीक्षणका लागि स्वाब नमूना संकलन गर्न नपाउँदा जिल्लामा कोरोना संक्रमितको पहिचान गर्न समस्या भएको छ । 

झापा, प्रदेश १ मै सबैभन्दा बढी कोरोना संक्रमित फेला परेको जिल्ला हो । भारतबाट लुकीछिपी सीमा पार गर्नेहरु दैनिक जिल्लाका विभिन्न पालिकामा प्रवेश गरिरहेका छन् । 

उनीहरुको तत्काल स्वाब नमूना संकलन गरी पीसीआर परीक्षण गर्नुपर्ने भएपनि मेसिन बिग्रिएकाले समस्या भएको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिनुभयो । जिल्लामा सोमबार देखि गौरीगञ्ज, मेचीनगर, बाह्रदशी, बुद्धशान्ति लगायत अधिकांश पालिकामा स्वाब संकलन गर्ने कार्य रोकिएको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘विराटनगरको पीसीआर मेसिन बिग्रिएको भन्ने खबर आएको छ । त्यसैले हामीले तत्काललाई स्वाब नमूना संकलन गर्ने काम रोकेका हौं ।’ झापाबाट पीसीआर परीक्षण गर्न पठाइएका ६ सय नमूनाको रिपोर्ट आउन बाँकी रहेको उहाँले बताउनुभयो । 


प्रतिक्रिया