उपनिर्वाचनमा सहभागी हुन निर्वाचन आयोगको अपिल

वैशाख १४, २०८१ | काठमाडौं

निर्वाचन आयोगले भोलि हुने उपनिर्वाचनमा सहभागी हुन अपिल गरेको छ ।

आयोगले विज्ञप्ति जारी गर्दै भोलि हुने प्रतिनिधिसभा सदस्य अन्तर्गत इलाम २ र प्रदेशसभा सदस्य अन्तर्गत बझाङ १ मा हुने उपनिर्वाचनमा सहभागी हुन अपिल गरेको हो । आयोगले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको समेत जनाएको छ ।

आयोगले उपनिर्वाचनका लागि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म आफ्नो तोकिएको मतदान केन्द्रमा उपस्थित भई मतदान गर्न सम्पूर्ण मतदाताहरुलाई अपिल गरेको छ । आयोगले निर्वाचन आचारसंहिता पालना गराउन र निर्वाचन सुरक्षाबारे सूक्ष्मरुपमा अनुगमन कार्य भइरहेको उल्लेख गरेको छ ।

मतदानका दिन निर्वाचनको स्वच्छता, निष्पक्षता तथा पारदर्शितामा असर नपर्ने गरी सम्बन्धित निर्वाचन क्षेत्रका मतदाताहरूको सहज आवागमनका लागि सार्वजनिक यातायात संचालनको उपयुक्त प्रबन्ध गर्न गृह मन्त्रालयमार्फत सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन भइसकेको आयोगले जनाएको छ ।

निर्वाचनको स्वतन्त्रता र निष्पक्षतामा कहीँ कतैबाट प्रश्न उठाउन सक्ने अवस्था सिर्जना नहोस् भन्ने ध्येयले मतदान हुने दिन खटिएका मतदान अधिकृत र कर्मचारीलाई आफ्नो कर्तव्यपालन गर्न पनि आयोगले आग्रह गरेको छ । 


प्रतिक्रिया