यार्सा संकलन र विद्यालय खोल्न संघीय सरकारलाई सिफारिस

जेष्ठ १९, २०७७ | सुर्खेत

कर्णाली प्रदेश सरकारले कोरोना संक्रमणको जोखिम कम देखिएका हिमाली जिल्लामा विद्यालय खोल्न र यार्चा संकलन खुला गर्ने व्यवस्था मिलाउन संघीय सरकारलाई सिफारिस गरेको छ । आइतबार बसेको प्रदेश विपद व्यवस्थापन केन्द्रको बैठक मार्फत यस्तो सिफारिस गरिएको हो । 

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले संक्रमणबाट सुरक्षित देखिएका हुम्ला, मुगु, जुम्ला, डोल्पा र कालीकोटमा सुरक्षा सावधानी सहित विद्यालय सञ्चालन गर्ने निर्णयको लागि नेपाल सरकार र कोभिड–१९ विपद व्यवस्थापन केन्द्रलाई अनुरोध गर्ने निर्णय गरेको छ । 

यद्यपि, प्रदेश सरकारले सुरक्षित भने पनि कालीकोट र जुम्लामा संक्रमितको संख्या बढिरहेको छ । सोमबारसम्म कालीकोटमा १८ र जुम्लामा १९ जना संक्रमित देखिएका सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

बैठकले भारतबाट आएका व्यक्तिलाई प्रवेश नदिने गरी जेठ २५ बाट यार्चा संकलन खुला गर्न पनि अनुरोध गरेको छ । यसको लागि भारतबाट आउने हुम्ला, डोल्पा र मुगुका नागरिकलाई सुर्खेतमै क्वारेन्टाइनको व्यवस्थापन गर्ने सरकारको तयारी छ । 

बैठकले हुम्ला र डोल्पाको माथिल्लो भेगमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट तिब्बत तर्फबाट हुने ढुवानीमा समस्या उत्पन्न भएको कारण वैकल्पिक व्यवस्था मिलाउन पनि नेपाल सरकारलाई अनुरोध गरेको छ ।


प्रतिक्रिया