क्वारेन्टिनमा बसेर घर फर्किएका सुर्खेतका एक युवकको मृत्यु

जेष्ठ २२, २०७७ | सुर्खेत

दुई सातासम्म क्वारेन्टिनमा बसेर घर फर्केका सुर्खेतका एक युवकको बिहीबार बिहान मृत्यु भएको छ । पञ्चपुरी नगरपालिका–१, सानीडाँडाका २० वर्षीय युवाको बिहान करीब २ बजे मृत्यु भएको हो । 

भारतको बम्बईमा मजदुरी गर्दै आएका उनी जेठ पहिलो साता नेपाल फर्किएका थिए । घर फर्किएपछि १५ दिनसम्म स्थानीय जनता मावि विद्यापुरको क्वारेन्टिनमा बसेका थिए । बुधबार दिउँसो आरडीटी परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनी साथीहरुसँग घर फर्किएका थिए । 

क्वारेन्टिनबाट ८ घण्टा पैदल हिँडेर गाउँमा पुगेका उनी घरमा नबसी नजिकैको एक सामुदायिक भवनमा बसेका थिए । पञ्चपुर–१ का वडाध्यक्ष धनबहादुर बुढाका अनुसार क्वारेन्टिनबाट उनीसँगै गएको ६ जनाको टोलीलाई माहुरी पालन स्रोत केन्द्रको भवनमा राखिएको थियो । 

‘आरडीटी रिपोर्ट नेगेटिभ आए पनि हामीले एक हप्तासम्म होम क्वारेन्टिनमा बस्न सल्लाह दिएका थियौं, त्यही अनुसार घर नजिकैको भवनमा बसेका थिए,’ उहाँले भन्नुभयो, ‘राति एक्कासी उनीसँग रहेका साथीहरुले मृत्यु भएको जानकारी दिए ।’ 

बिहान पौने २ बजेतिर समस्या भएको भन्दै युवाहरुले खबर गरेका र आधा घण्टामा त्यहाँ पुग्दा मृत्यु भइसकेको उहाँले बताउनुभयो । मृतक युवाको पीसीआर परीक्षणको लागि स्वाब संकलन गरिएको छ । स्वाब परीक्षण रिपोर्ट आएपछि दाहसंस्कार कसरी गर्ने भन्नेबारे निर्णय गरिने वडाध्यक्ष बुढाले बताउनुभयो । 


प्रतिक्रिया