सुर्खेतका मृतक युवामा कोरोना पुष्टि

जेष्ठ २३, २०७७ | सुर्खेत

– क्वारेन्टाइनबाट घर फर्केपछि मृत्यु भएका पश्चिम सुर्खेतका युवामा कोरोना पुष्टि भएको छ । पञ्चपुरी नगरपालिका १ सानीडाँडाका २० वर्षीय युवाको हिजो बिहान करिब २ बजे मृत्यु भएको थियो । हिजो दिउँसो गरिएको स्वाब परीक्षणमा रिपोर्ट पोजिटिभ आएको सो वडाका वडाध्यक्ष धनबहादुर थापाले जानकारी दिनुभयो । 

जेठ पहिलो साता भारतको मुम्बईबाट आएका ती युवा दुई सातासम्म विद्यापुरस्थित जनता माविको क्वारेन्टाइनमा बसेर घर फर्किएका थिए । बुधबार दिउँसो गरिएको आरडीटी परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उनलाई घर पठाइएको थियो । राति घर पुगेका उनी घर नजिकैको माहुरी पालन स्रोत केन्द्रको भवनमा बसेका थिए । वडाध्यक्ष थापाका अनुसार ती युवासँगै अन्य ६ जना पनि सँगै बसेका थिए । वडाध्यक्ष थापाले कोरोना पुष्टि भएपछि उनीसँगै आएका अन्य युवा र क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको पनि स्वाब परीक्षण गर्ने तयारी भइरहेको बताउनुभयो । 

नेपाली सेनाको टोलीले नजिकैको जंगलमा शव व्यवस्थापन गर्ने तयारी गरेको उहाँले बताउनुभयो । योसँगै कर्णालीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ पुगेको छ । गत शनिबार दैलेखको दुल्लुमा क्वारेन्टाइनमा बसेका ३५ वर्षीय युवाको मृत्यु भएको थियो ।


प्रतिक्रिया