सुदूरपश्चिम प्रदेशका क्वारेन्टिनमा बसेकामा कोरोनासँगै औलोको प्रकोप

जेष्ठ २५, २०७७ | धनगढी

सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका क्वारेन्टिनमा बसेकाहरुमा कडा खालको पी फाल्सिपाराम औलो देखिएको छ । कोरोना भाइरसको संक्रमणसँगै भारतबाट औंलो भित्रिएकाले समुदायमा फैलिन सक्ने खतरा रहेको प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

निर्देशनालयले क्वारेन्टिनमा रहेका ब्यक्तिहरुलाई ज्वरो आएको खण्डमा कोरोनासँगै औलोको लागि आरडीटी परीक्षण गर्न स्वास्थ्यकर्मीलाई निर्देशन दिएको छ । निर्देशक डा. गुणराज अवस्थीले भारतबाट आएर क्वारेन्टिनमा बसेका व्यक्तिहरुमा कडा खाले औलो देखिएकाले समुदायस्तर सम्म फैलिनबाट रोक्न ज्वरो आएकालाई आजबाट औलोको परीक्षण अनिवार्य गरेको बताउनुभयो ।

‘क्वारेन्टाईनमा कोभिडको बिरामी पहिचान गर्दा औलोको प्रकोप समुदायमा फैलिन सक्छ, डा.अवस्थीले भन्नुभयो, ‘त्यसैले औलोको पूर्व रोकथामका लागि क्वारेन्टिनमै औलोका बिरामीको पहिचान गर्न आवश्यक छ ।’ 

लामखुट्टेबाट सर्ने औलो रोग नियन्त्रण बाहिर गए डरलाग्दो रुपमा फैलिन सक्ने उहाँले बताउनुभयो । ‘यो औलो प्रकोप फैलिन सक्ने सिजन पनि हो’ उहाँले भन्नुभयो, ‘क्वारेन्टिनमा बसेका ब्यक्तिहरुले मच्छरबाट बच्ने उपाय सबैले अपनाएका छैन्न । यहाँ फैलिन सक्ने खतरा बढी छ ।’ उहाँका अनुसार क्वारेन्टिनबाट समुदायमा पनि औलोका जिवाणु भएका लामखुट्टे फैलिन सक्ने छ ।

निर्देशनालयका अनुसार डडेल्धुराको गन्यापधुरा गाउँपालिका–४ को क्वारेन्टिनमा बसेका एक जनामा कडा खाले पी.पाल्सिपारम औलोको प्रकोप देखिएको छ । त्यस्तै, कञ्चनपुरको लालझाडी र कष्णपुर नगरपालिकाको क्वारेन्टिनमा बसेका एक/एक जनामा पी भाईभेक्स औलोको प्रकोप देखिएको छ । 


प्रतिक्रिया