अर्घखाँचीमा क्वारेन्टिनमा बस्दै आएका एकको मृत्यु

जेष्ठ २८, २०७७ | अर्घाखाँची

अर्घाखाँचीको स्थानीय क्वारेन्टिनमा बसेका मालारानी गाउँपालिका–४ का ५७ वर्षीय यमलाल खनालको मृत्यु भएको छ । भारतबाट आएर क्वारेन्टिनमा बस्दै आएका उनलाई एक्कासी ज्वरो आएपछि अस्पताल भर्ना गरिएको थियो । 

प्रादेशिक अस्पताल बुटवलमा उपचारपछि घर फर्किदै गरेका उनको आज बिहान मृत्यु भएको हो । क्वारेन्टिनमा बसेका बेला एक्कासी ज्वरो आउने, शरीर कमजोर भएको र घाँटी दुख्ने समस्या भएपछि उपचारका लागि उनलाई मंगलबार बिहान सन्धिखर्क अस्पतालमा लगिएको थियो । 

घाँटीमा शल्याक्रिया गरेका खनालको सास फेर्न समेत गाह्रो भएकाले थप उपचारको लागि प्रादेशिक अस्पताल बुटवलमा लगिएको थियो । उपचारपछि बुधबार बिहानै अस्पतालले डिस्चार्ज गरेको थियो । घर फर्कदै गर्दा शीतगंगा नगरपालिकाको डोहेटेमा दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ । 

भारतबाट आएका उनी यही १५ गतेबाट सार्वजनिक आधारभूत विद्यालयको क्वारेन्टिनमा बस्दै आएको वडाध्यक्ष विष्णुप्रसाद पोखरेलले बताउनुभयो । खनालको स्वाब परीक्षणको लागि बुटवल पठाइएको छ ।   


प्रतिक्रिया