हिमाली जिल्ला मनाङमा पनि देखियो कोरोना संक्रमण

असार ४, २०७७ | पोखरा

हिमाली जिल्ला मनाङमा पनि कोरोना संक्रमीत भेटिएका छन । स्थायी ठेगाना कपिलबस्तु बाणगंगा–१४ घर भइ मनाङ बस्दै आएका ५७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । संक्रमित व्यक्ति सरकारी कार्यालयका प्रमुख रहेको र उनी हालैमात्र घरबाट मनाङ फर्किएका थिए । गण्डकीमा आजमात्रै ४२ जना संक्रमित थपिएका छन ।

निर्देशनालयका अनुसार पूर्वी नवलपरासीको मध्यबिन्दु र गैंडाकोट नगरपालिकाका गरी १७ पुरुष, तनहुँका १२, गोरखाका १२ जनामा कोरोना सक्रमण पुष्टी भएको हो । 

प्रदेश स्वास्थ्य निर्देशक एबं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदबिन्दु शर्माका अनुसार मनाङका बाहेक अरु संक्रमित सबै हालैमात्र भारतबाट फर्किएका हुन । क्वारेन्टाइनमा बस्दै आएका उनीहरुलाई आइसोलेशन कक्षमा लैजाने तयारी भएको छ । 

योसंगै गण्डकीमा कोरोना संक्रमितको संख्या २ सय ८९ पुगेको छ । संक्रमित मध्ये २२ जना निको भएर घर फर्किएका छन । स्याङजाका एकजनाको भने मृत्यु भएको छ । प्रदेशका ११ मध्ये मुस्ताङमा कोही पनि संक्रमित भेटिएको छैन । 


प्रतिक्रिया