नारायणगढ-मुग्लिन सडकमा एकतर्फी यातायात सञ्चालन

 तस्बिर : रमेशकुमार पौडेल, रेडियो कान्तिपुर ।

असार ४, २०७७ | भरतपुर

पहिरो जाँदा हिजो दिनभर बन्द भएको नारायणगढ मुग्लिन सडकमा आजपनि यातायात सेवा सहज हुन सकेको छैन । 

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सूर्य थापाले सडकखण्डमा एकतर्फी यातायात सञ्चालनमा आएको बताउनुभयो । हिजो बिहान कालिखोलामा पहिरो खस्दा बन्द भएको सडक साँझ पौने सात बजे १०/१५ मिनेट खुलेर पुन: बन्द भएको थियो ।

काठमाडौंको लाईफलाईन मानिने यो सडकमा सामान्य अवस्थामा दैनिक १० हजार गाडी ओहोर दोहोर गर्दछन् । लकडाउनकै अवधीमा पनि निजी र मालवाहक गरी सयौंको संख्यामा सवारी साधन जाममा परेका छन् । 

नारायणगढ–मुग्लिन सडक आयोजनाका सुचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार हिजो दिनभर काम भए पनि खसेको मध्ये ३० प्रतिशत मात्रै पहिरो हटाउने काम सकिएको छ ।

नारायणगढ मुग्लिन सडकलाई एसियाली मापदण्ड अनुरुपको दुई लेनको फराकिलो सडक बनाउन ठाउँ ठाउँमा पहाड काटिएको थियो । पहाड काटेको ठाउँमा वर्षायाममा पहिरो जाने गरेको छ । 


प्रतिक्रिया