गण्डकीमा बिहीबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि

असार ११, २०७७ | म्याग्दी

गण्डकी प्रदेशमा बिहीबार थप ११ जनामा कोरना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । पोखरास्थित प्रदेश क्षयरोग केन्द्र र हेटौंडास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

नयाँ संक्रमित मध्ये म्याग्दीका ६ जना, पूर्वी नवलपरासीका २, बागलुङका २ र स्याङजाका एक जना रहेका छन् । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार भारत र कुवेतबाट फर्केर बेनीको न्यू वेष्ट पोईन्ट कलेजमा निर्माण गरिएको क्वारेन्टिनमा बसेका मंगला गाउँपालिका–१ का ३५ र २० वर्षीय पुरुष संक्रमण देखिएको हो । 

यस्तै, सोही गाउँपालिका–३ र ४ का २६ र २३ वर्षीय पुरुष, बेनी नगरपालिका– ४ का १७ वर्षीय पुरुष र गत जेठ ३० गते कुवेतबाट फर्केकी बेनी नगरपालिका–३ की २६ वर्षीया महिलामा कोरना संक्रमण पुष्टि भएको हो ।

नयाँ थपिएका ६ जना र आईसोलेनमा रहेका ६ जना गरी सबै १२ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।

बागलुङको गल्कोट नगरपालिका–२ का १९ र २० वर्षीय पुरुष, स्याङजाको कालीगण्डकी गाउँपालिका–१ का २३ वर्षीष पुरुष तथा नवलपरासी पूर्वको मध्यबिन्दु नगरपालिकाका २० वर्षीया महिला र ५३ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

नवलपरासी बर्दघाट सुस्ता पूर्वका सबै संक्रमितलाई आइसोलेशनमा राखिएको छ । अन्य जिल्लाका संक्रमितहरुलाई सम्बन्धित जिल्लामा रहेको आइसोलेशनमा लैजाने तयारी भईरहेको गण्डकी प्रदेशको कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रममा निर्देशन डा. विनोद बिन्दु शर्माले जानकारी दिनुभयो । 


प्रतिक्रिया