'दुइमहिने शिशुको पेटबाट डेढकिलोको ट्युमर'

दुइमहिने शिशुको डेढकिलोको ट्युमर निकाल्दै विपि प्रतिष्ठानका चिकित्सकहरु । तस्वीर: प्रदीप मेन्याङ्बो, रेडियो कान्तिपुर ।  

असार १३, २०७७ | सुनसरी

सुनसरीको धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ महिने बालिकाको पेटमा पलाएको डेढ किलोको ट्युमर शल्यक्रिया गरेर निकालिएको छ । प्रतिष्ठानको सर्जरी विभागका पेडियाट्रिक इन्चार्ज सर्जन डा. राजेश साह र उनको टिमले सफलतापुर्वक शल्यक्रिया गरेर निकालेका हुन् । 

शल्यक्रिया पछि बच्चाको अवस्था सामान्य भएपछि हिजो डिस्चार्ज गरेर प्रतिष्ठानले औपचारिक रुपमा दुइमहिने बालिकाको पेटको ट्युमरको सफल शल्यक्रिया गरेको जानकारी दिएको हो । यसअघि एससिवी मेडिकल कलेज उडिया भारतको पेडियाट्रिक सर्जरी विभागले सन् २०१८ मा ३ महिनाको एक बालकको सर्जरी गरेर डेढ केजीको टेयुमर लिकालेका थिए । २ महिनाको बच्चामा यति ठूलो ट्युमर निकालेको हालसम्म चिकित्सा विज्ञानको अनुसन्धान रिर्पोटमा नपाइएको डा साहले बताउनुभयो ।

उहाँकाअनुसार सामान्यतया चिकित्सा विज्ञानमा अति साना बालबालिकाको ट्युमरको सफल शल्यक्रिया विरलै मानिन्छ । धनकुटाको चौविसे गाउपालिका– ८ साम्मेवा बस्ने दिपेन्द्र लिम्बु र विनिता लिम्बुका २ महिने छोरीको पेटमा भएको ट्युमरको सफल शल्यक्रिया गरिएको प्रतिष्ठानका प्रवक्ता प्रा डा निदेश सापकोटाले बताउनुभयो ।

बालिकाको पेट असामान्य रुपमा बढेको देखिएपछि लिम्बु दम्पतीले गत जेठ २ गते प्रतिष्ठानमा उपचारकालागि भर्ना गराएका थिए । जेठ १८ गते शल्यक्रिया गरेर १६ दिन पिआइसियुमा र पाँचदिन पेडियाट्रिक वार्डमा राखेर शिशुको अवस्था सामान्य भएपछि डिस्चार्ज गरिएको डा साहले बताउनुभयो । 

बालिकाका बाबु दिपेन्द्र लिम्बुका अनुसार प्रतिष्ठानको स्त्री तथा प्रसुती विभागमै बच्चा जन्मेपछि अस्पतालबाट घर फर्केको २० दिनमा असामान्यरुपमा छोरीको पेट बढेको थियो । तत्कालै प्रतिष्ठानमा ल्याएर चेक जांच गर्दा पेटमा ट्युमार पलाएको पत्ता लागेपछि शल्यक्रिया गरिएको र हाल छोरीको अवस्था शकुसल रहेको लिम्बुले बताउनुभयो ।


प्रतिक्रिया