मेसिन बिग्रिदा ८ सय स्वाब थन्किए

असार १६, २०७७ | सुर्खेत

सुर्खेतमा रहेको आरटी–पीसीआर मेसिन बिग्रिएपछि ५ दिनदेखि कोरोना परीक्षण रोकिएको छ । यसले गर्दा विभिन्न जिल्लाबाट संकलन गरेर ल्याइएका करिब ८ सय स्वाबका नमुना प्रयोगशालामै थन्किएका छन् । 

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका प्रयोगशाला संयोजक ओम आचार्यका अनुसार सुर्खेतसहित दैलेख, सल्यान, जाजरकोट र रुकुम पश्चिमबाट संकलन गरेर ल्याइएका स्वाबका नमुना प्रयोगशालाको फ्रिजमा राखिएका छन् । 

माइनस ८० डिग्री सेल्सियसको तापक्रममा राखिएको उहाँले बताउनुभयो । कर्णाली प्रदेश सरकारले त्रिभुवन विश्वविद्यालयको ल्याबमा रहेको आरटी–पीसीआर मेसिन खरिद गरी वैशाख दोस्रो साताबाट परीक्षण थालेको थियो । एक पटकमा ९६ वटा नमुना प्रोसेसिङ गर्ने क्षमता भए पनि मेसिन ‘फूलफेज’ मा चलेको थिएन । 

क्षमताको करिब आधा संख्यामा परीक्षण हुँदै आएको थियो । संघीय सरकारले चैतमा पठाएको कम क्षमताको मेसिन पनि वैशाख दोस्रो सातादेखि बन्द छ । ्प्रदेश स्वास्थ्य सेवा निर्देशक रीता भण्डारीले सुर्खेतको मेसिन बिग्रिए पनि केही नमुनाहरु परीक्षणको लागि आवश्यक प्रक्रिया पूरा गरेर नेपालगन्ज पठाउने काम भइरहेको बताउनुभयो ।

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ठूलो मेसिन भए पनि चाप अधिक हुँदा प्रदेश बाहिरको प्रयोगशालामा पठाउनु परेको हो । प्रतिष्ठानको प्रयोगशालामा पनि आजसम्म करिब ८ सय स्वाब ‘पेन्डिङ’ मा रहेका प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले बताउनुभयो ।

दैलेखमा हिजोदेखि परीक्षण सुरु भए पनि ‘क्रस भेरिफिकेसन’ को लागि नमुना नेपालगन्जस्थित प्रयोगशालामा पठाउनुपर्ने भएकोले परीक्षणले गति लिन सकेको छैन । स्वास्थ्य सेवा कार्यालय प्रमुख डा. निरन्जन पन्तका अनुसार पहिलो दिन ४० नमुना परीक्षण भएकोमा पुन: परीक्षणको लागि स्वाबको नमुना नेपालगन्ज पठाइएका छन् । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले पनि मेसिन खरिद गरी ल्याएको छ । 

आज जडानको काम भएको र संभवत: शुक्रबारदेखि परीक्षण सुरु हुने नगर प्रमुख विशाल शर्माले बताउनुभयो । उहाँका अनुसार चौरजहारीमा परीक्षण सुरु भएमा रुकुमका साथै सल्यान, जाजरकोट, सुर्खेतका पूर्वी क्षेत्र र डोल्पाका केही क्षेत्रका स्वाब परीक्षण गर्न सकिनेछ ।


प्रतिक्रिया