दुई थरि रिपोर्टले स्वास्थ्य कर्मचारी तनाबमा

असार १७, २०७७ | रौतहट

कोरोना भाईरस परीक्षणमा जनकपुर र हेटौंडाको प्रयोगशालाबाट दुई थरिको रिपोर्ट आएपछि स्वास्थ्य कार्यालय रौतहटका अधिकारीहरु तिन दिनदेखि तनाबमा छन् । 

जनकपुरस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले कोरोना पुष्टि गरेको रिपोर्टको थप परीक्षणका लागि हेटौंडा पठाईएकोमा त्यहाँबाट नेगेटिभ आएपछि स्वास्थ्यकर्मी थप तनाबमा परेका हुन् । 

विश्वस्त हुनका लागि केन्द्रीय प्रयोगशाला टेकुमा परीक्षण गर्न बिहीबार थप स्वाब संकलन गरिने भएको छ । एक साता अघि स्वास्थ्य कार्यालय गौरका २३ जनाको स्वाब संकलन गरी जनकपुर पठाईएको थियो । 

पाँच दिनपछि १२ जनाको रिपोर्ट नेगेटिभ भनेर कागज पठायो । ११ जनाको आएन । त्यसको दुई दिनपछि स्वास्थ्यका ४ कर्मचारी र एक जना गैर सरकारी संस्थाकी कर्मचारी गरी ५ जनामै पोजेटिभ आएको रिपोर्ट पठाएको जिल्ला स्वास्थ्य प्रमुख महेश साहले बताउनुभयो । 

‘हामीले पुन: स्वाब संकलन गरेर रातारात बागमती प्रदेशको प्रयोगशाला हेटौंडामा जाँचका लागि पठाइयो, उहाँले भन्नुभयो, ‘हेटौंडामा परीक्षण गर्दा पाँचै जनामा कोरोना संक्रमण नभएको नेगेटिभ रिपोर्ट आयो । अब जनकपुरको ल्याबको कसरी विश्वास गर्नु ।’

यो घटनाले जनकपुर प्रयोगशाला माथि गम्भीर प्रश्न उठाएको प्रमुख साहले बताउनुभयो । २३ जनाकै स्वाब पुन: संकलन गरी काठमाडौको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाउन प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरले अनुरोध गर्नुभयो ।

जनकपुर र हेटौंडा ल्याबबाट दुई थरिको रिपोर्ट आएकाले प्रजिअ घिमिरे पनि टेकुको रिपोर्टको प्रतीक्षामा छन् । जनकपुरको रिपोर्टपछि कन्ट्याक्ट ट्रेसिङ लगायतको काम सुरु गर्नुअघि पुन: अर्को ल्याबबाट परीक्षण गराएर हेर्ने निष्कर्षपछि हेटौंडामा परीक्षण गर्न पठाइएको प्रमुख साहले बताउनुभयो ।

तर, रिपोर्टमा कोरोना नभएको आएपछि स्वास्थ्यका अधिकारीहरु दोधारमा परेका हुन् । गौर अस्पतालकै एक कर्मचारीको छोरामा केही दिनअघि संक्रमण पुष्टि भएपछि असार ११ गते स्वास्थ्यका २३ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको हो ।

एक महिना अघि बृन्दावन नगरपालिका–६ का शेख नियाज भारतबाट आएर चन्द्रपुरस्थित क्वारेन्टिनमा बसेका थिए । उनको दुई सातापछि स्वाब परीक्षणका लागि जनकपुरस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पठाईयो । त्यहाँबाट नेगेटिभ रिपोर्ट आएपछि उनलाई क्वारेन्टिनबाट घर पठाइयो । त्यसको १० दिनपछि टेकुमा परीक्षण गर्दा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । 

ल्याबको परीक्षणको गुणस्तरीयतामा प्रश्न उठेपछि बीचमा बन्द गरिएको थियो । अहिले नयाँ आरटी पीसीआर मेसिन जडान गरेर ल्याब सञ्चालनमा गरिएको छ । उनी संक्रमण मुक्त भएर घर फर्किसकेका छन् । जिल्ला स्वास्थ्य प्रमुख साहले टेकुको पनि रिपोर्ट पोजेटिभ आयो भने जनकपुरको ल्याब बन्द गर्नु पर्ने उल्लेख गर्नुभयो । 


प्रतिक्रिया