कर्णालीमा चिकित्सक सहित ४ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि

तस्बिर : रोयटर्स 

असार २४, २०७७ | सुर्खेत

कर्णाली प्रदेश अस्पतालमा बुधबार थप २ जना चिकित्सक र २ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । आइसोलेसनमा ड्युटी गरेर क्वारेन्टिनमा बसेका उनीहरुको स्वाब परीक्षण गर्दा रिपोर्ट पोजिटिभ देखिएको अस्पतालले जनाएको छ । यसअघि पनि ९ जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएको थियो ।

अस्पताल निर्देशक डा. डम्बर खड्काका अनुसार संक्रमित हुनेमा दुई जना चिकित्सक कोरोना विशेष अस्पतालमा दुईहप्ते ड्युटी सकेर क्वारेन्टिनमा बसिरहेका थिए । दुई जना स्वास्थ्यकर्मी भने ओपीडी र वार्डमा ड्युटीमा कार्यरत हुन् । संक्रमण देखिएपछि उनीहरुलाई अस्पतालकै आइसोलेसनमा राख्ने तयारी भइरहेको छ ।

कर्णाली प्रदेश अस्पतालमा यसअघि असार ११ गते दुई जना चिकित्सकसहित ९ जना स्वास्थ्यकर्मीमा कोराना देखिएको थियो । उनीहरु आइतबार डिस्चार्ज भएका छन् । कोरोना विशेष अस्पतालमा ड्युटी गरिरहेकाहरु संक्रमणको चपेटामा पर्ने गरेका छन् । सुरुमा अस्पतालको फोकल पर्सन रहेका डा. केएन पौडेल र अर्का चिकित्सक याम शर्मा संक्रमित भएका थिए । अहिले विशेष अस्पतालको संयोजन डा. प्रदीप न्यौपानेले गरिरहेका छन् ।

यसैबीच, बुधबार कर्णालीमा थप २० जनामा कोरोना पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या १ हजार ५ सय ५० पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये १ हजार २ सय ९१ जना डिस्चार्ज भएका छन् भने ६ जनाको मृत्यु भएको छ । आइसोलेसनमा २ सय ५३ जनाको उपचार भइरहेको मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताउनुभयो । 


प्रतिक्रिया