छाङ्गरु र तिंकरमा खाद्यान्न बोकेर गएको हेलिकप्टर बीच बाटोबाटै फर्कियो

असार २७, २०७७ | दार्चुला

दार्चुलाको ब्यास गाउँपालिका–१ को छाङ्गरु र तिंकर गाउँमा खाद्यान्न ढुवानीका लागि उडेको हेलिकप्टर बीच बाटोबाटै फर्किएको छ । सरकारले निजी हवाई कम्पनी मार्फत छाङरु र तिंकरका लागि दुई सय क्विन्टल चामल ढुवानी गर्ने बताएपनि मौसमको प्रतिकूलताका कारण हेलिकप्टर बीच बाटोबाटै फर्केको हो । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पश्चिम नेपालको त्रिदेशीय सीमा क्षेत्रमा रहेको छाङ्गरु र तिंकर गाउँमा हेलिकोप्टर मार्फत शनिबारबाट चामल ढुवानी सुरु गरिएको थियो । तर, मौसम प्रतिकूलताका कारण ढुवानी हुन नसकेको हो ।

दिउँसो १ बजेतिर चामल बोकेर ब्यासको छाङ्गरुका लागि उडेको माउण्टेन हेलिकप्टर बाक्लो कुहिरोका कारण ब्यास गाउँपालिका–२ बयलीधारबाट फर्केको गाउँपालिकाका अध्यक्ष दिलिप सिंह बुढाथोकीले बताउनुभयो । बयलीधारको माथिल्लो क्षेत्रमा बाक्लो कुहिरो देखिएपछि पाईलटले हेलिकप्टर फर्काएको हो । त्यो भन्दा माथि छियालेकमा करीब तीन हजार तीन सय मिटर उचाईमा हेलिकप्टर चढाउनुपर्ने भएकाले जोखिम बढ्ने भन्दै फर्किएको उहाँको भनाई छ ।

ब्यासमा सरकारी अनुदानको दुई सय क्विन्टल चामल ढुवानीका लागि शुक्रबार साँझ दार्चुला पुगेको हेलिकप्टर मौसमको प्रतिकूलताका कारण शनिबार उडान भर्न नसकेको हेलिकप्टरका प्रतिनिधि सञ्जीव भण्डारीले बताउनुभयो । 

आज बिहान साढे ५ बजेबाट ब्यासमा चामल ढुवानीका योजनाका साथ हिजो नै हेलिकप्टर दार्चुला सदरमुकाममा अवतरण गरेपनि राम्ररी मौसम नखुल्दा बीच बाटोबाट फर्कनु परेको जनाएको छ । मौसमले साथ दिए भोलि पनि बिहानैबाट चामल ढुवानीको काम सुरु गर्ने योजना रहेको हुनाले दुई/तीन दिनमै ब्यासको छाङ्गरु र तिंकर चामल ढुवानी गरिसक्ने उहाँको भनाई छ ।

त्रिदेशीय सीमा क्षेत्रमा ब्यासमा संधै खाद्यान्नको समस्या हुने भएपनि अघिल्ला वर्षहरुमा भारत तथा चीनबाट खाद्यान्नको आपूर्ति हुँदै आएको थियो । यसपाली कोरोनाका कारण भारत र चीनका सीमाहरु बन्द र नेपालीबाट गाउँसम्म ढुवानी गर्न बाटो समेत नहुँदा माथिल्लो ब्यासका स्थानीय खाद्यान्न समस्या भोग्दै आएको हुनाले कुञ्चा सार्ने बित्तिकै गाउँपालिकाले खाद्य संस्थानलाई अनुरोध गरेपछि सरकारले ढुवानीमा अनुदान दिई खाद्यान्न ढुवानी हुन लागेको गाउँपालिका अध्यक्ष बुढाथोकीले बताउनुभयो

छाङ्गरु र तिंकर गाउँमा एक/एक सय क्विन्टल चामल हेलिकप्टर मार्फत ढुवानी गरिने खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सुर्खेतस्थित प्रादेशिक प्रमुख भीमबहादुर थापाले बताउनुभयो । प्रतिस्पर्धाका आधारमा कम्पनीले निजी हवाई कम्पनी माउण्टेनले सस्तो दरमा चामल ढुवानी गर्ने जनाएपछि छाङ्गरु र तिंकर गाउँमा खाद्यान्न ढुवानी सुरु गरिएको उहाँको भनाई छ । 

हेलिकोप्टर मार्फत दुई सय क्विन्टल चामल ढुवानी गर्न झण्डै ५० लाख रुपैयाँ खर्च हुने भएको छ । सुर्खेतबाट दार्चुला सदरमुकाम वा सडक सुविधा पुग्ने ठाउँसम्म गाडीबाटै चामल ढुवानी गरिएको र सदरमुकामबाट छाङ्गरु र तिंकर गाउँसम्म सानो हेलिकोप्टर मार्फत चामल ढुवानी गरिन लागेको हो ।


प्रतिक्रिया