पहिरोले कालीकोटमा विद्युत सेवा अवरुद्ध

श्रावण ५, २०७७ | कालीकोट

पहिरोले कालीकोटको सान्नीगाड साना जलविद्युत आयोजनाको कुलो बगाएपछि चार दिनदेखि विद्युत सेवा अवरुद्ध छ । विद्युत नहुँदा कार्यालयका दैनिक कामकाज प्रभावित भएका छन् भने स्थानीयवासी अन्धकारमा बस्न बाध्य छन् । 

साउन १ गते रातिको वर्षापछि खसेको पहिरोले सान्नी त्रिवेणी गाउँपालिका–९ मुम्रास्थित ५ सय किलोवाट क्षमताको सो आयोजनाको ३० मिटर कुलो बगाएपछि विद्युत सेवा अवरुद्ध भएको हो । विद्युत अवरुद्ध हुँदा सदरमुकाम मान्म बजार, पोरिपाल्नी, हुल्म बजार, ताडी, बद्रिगाउँ, बदालकोटको रेगिंल, बरातु, सान्नी त्रिवेणीको रकु लगायत क्षेत्र अन्धकार छ । 

यस्तै, लुसा, सेरिज्यूला, नाइना, बुठ्गे, नाइना, लुयाटा, मेहेलमुडी, डाडाखेत, उजेल गाउँ, पोरिवन, मुमा, क्यूरी, सिप्खाना, न्यौपानेवाडा, कोलिगाउँ बर्खेढुंगा, विजयपुर, माथि र तल स्युना, गोर्खाली गाउँ, रानावाडा, बड्डाला, फूकोट सहितका गाउँवस्ती पनि अन्धकार छन् ।

पानी धेरै परेका बेला कुलोको पानी खोलामा पठाउने गरिएपनि गत बिहीबार राति पानी परेकाले कुलो भत्किएको कालीकोट विद्युत वितरण केन्द्रका कर्मचारी जयप्रसाद पाण्डेले बताउनुभयो । पर्खाल सहितको कुलो निर्माण गर्न टेण्डर गर्दा ६ महिना एक वर्ष लाग्न सक्ने उहाँको भनाई छ । 

पाइप हालेर अस्थायी रुपमा विद्युत सेवा सञ्चालन गर्न नेपाली सेना र सशस्त्र प्रहरीलाई खटाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले बताउनुभयो । 

तत्कालका लागि पाइपबाट पानी सञ्चालन गरेर विद्युत बाल्ने तयारी भइरहेको छ । २०७० असार २ गते राति पहिरोले पावर हाउस सहित कुलो बगाउँदा १४ जनाको मृत्यु भएको थियो भने ३ वर्षसम्म विद्युत अवरुद्ध बनेको थियो । 


प्रतिक्रिया