मलेखु बजारमा माछाको प्रतिमा

श्रावण १२, २०७७ | धादिङ

पृथ्वीराजमार्गको यात्रा गर्दा माछाका पारखीहरु मलेखु बजारलाई भुल्नै सक्दैनन् । निजी सवारी साधनहरुमा आउने यात्रीहरु गजुरीको मलेखु बजारमा रोकिएर माछाका विभिन्न परिकार खाएरै मात्रै जान्छन् । ४२ वर्ष अघिबाट माछाको परिकार बनाएर मलेखुलाई माछामय मात्र नभई मलेखुको पर्यायवाची नाम माछा बजार बनाउन सफल भएकाले मलेखुमा माछाको प्रतिमा स्थापना गरिएको छ । 

मलेखु बजारमा पर्यटकको थप आकर्षण बढाउन प्रतिमा निमार्ण गरिएको गजुरी गाँउपालिका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले बताउनुभयो । त्यतिबेला एक जनाले सुरु गरेको व्यवसाय अहिले माछा बेच्नका लागि मात्रै ४५ वटा होटल सञ्चालनमा छन् । माछाको प्रतिमा अनावरण गर्दै अध्यक्ष बस्नेतले माछा व्यवसाय सुरु गर्ने स्थानीय छविलाल मरहठ्ठा र एकराज सेढाई प्रति आभार व्यक्त गर्नुभयो । अब मलेखुको शान र माछाको पहिचान जोगाउन व्यवसायीले विषेश ध्यान दिनुपर्ने अध्यक्ष बस्नेतले बताउनुभयो ।

माछाको प्रतिमा अनावरण कार्यक्रममा छविलाल मरहठ्ठ र उनकी श्रीमती देवीमाया मरहठ्ठा, एकराज सेढाई र उनकी श्रीमती टुलकदेवी सेढाईलाई सम्मान गरिएको थियो । मरहठ्ठाले मलेखमा आधा केजी माछा र १ केजी आलुको चप पाकाएर बेच्न सुरु गर्दा सडकमा आठ वटा गाडी चल्थ्यो । अहिले मलेखुको माछाका रुपमा पहिचान बनाएको छ । ‘एकदिन एक जना चेपाङले त्रिशूली नदीमा जालमा पारेको माछा बेच्न ल्यायो । त्यही माछा तारेर बेच्न सुरु गरेँ । पहिलो दिनमै आधा केजी माछा बिक्यो । भोलिपल्टबाट चेपाङलाई आग्रह गरेर माछा मार्न पठाउने गरेको’ मरहठ्ठाले सुनाए ।’

अहिले माछाको परिकार बनाएर बेच्ने व्यवसायीले मलेखु पुल वारी पारी एक सय भन्दा बढी होटल सञ्चालन गरेका छन् । पाँँच सयको हाराहारीमा प्रत्यक्ष रोजगारी मिलेको छ । दैनिक एक हजार पाँच सय केजी माछा आलो, सुकाएको र परिकार बनाएर बिक्री हुने अनुमान गरिएको छ ।

उनले भने, ‘त्यतीबेला मैले ५० पैसा प्रतिगोटा बेचेको चप र ५ रुपैयाँ प्रति प्लेट बेचेको माछा अहिले चप प्रतिगोटा १५ रुपैयाँ र माछा प्रति प्लेट १ सय ८० रुपैयाँ बिक्री हुने गरेको छ ।’

त्रिशूलीको माछा भनेर फस्टाएको बजारमा थोरै त्रिशूली नदी र अरु सबै तराईबाटै मगाउने गरिएको छ । बालुवा गिट््टीका उद्योगहरुले बाहै्र महिना त्रिशूली धमिलो बनाउने भएपछि माछा पाईन छोडेको छ । त्रिशूली नदी प्रदूषण भएका कारण माछा मारेर जीविकोपार्जन गर्ने परिवारहरु संकटमा परेका छन् ।

माछाका पारखीहरुले त मलखुेको माछा चिनिसकेका छ । मलेखु नचिनेकाहरु चिनाउन, माछा र मलेखु सम्बन्ध तथा महत्व दर्शाउन माछा मिठो मलेखुको पानी त्रिशूलीको बोलको गीत उमा श्रेष्ठले गाएकी छिन् । मलेखुमा पुल हितकारी मायालाई सम्झिँदा सयपत्री फूल बोलको गीत शिला आले र धमेश दुलालले गाएका छन् । यसगरी मलेखुकै कलाकार भरत बराकोटीले रचना गरेको मलेखु तिम्रो नाम यो दिलमा लेखु कि नलेखु बोलको गीत बिरु लामा र सम्झना भण्डारीले गाएका छन् ।

माछा बजारको रुपममा पहिचान बनाएको मलेखु बजारको गरिमालाई अझ जीवित राखि व्यवसाय प्रवर्धन गरी आन्तरिक पर्यटनलाई आर्कषण गर्न गजुरी गाउँपालिकाले एघार लाख उपलव्ध गराएको छ । अब माछाका पारखीहरुले माछा खान मात्र होइन । कृतिम माछासँग सेल्फी समेत खिच्न पााउने छ । माछाको प्रतिमा ललितपुरस्थित विद्याधारी हस्तकला केन्द्रका बाबुराजा मर्हजन र उनका छोरा अनिश मर्हजनले निमार्ण गरेका हुन् । माछाको प्रतिमा निर्माण गर्न छ लाख १८ हजार र अन्य व्यवस्थापन गर्न दश लाख ७९ हजार खर्च भएको छ ।  


प्रतिक्रिया