१० महिनामा ३ सय बढी नेपाली अमेरिकाबाट निष्कासित

कार्तिक १७, २०८२

पछिल्लो १० महिनामा ३ सयभन्दा बढी नेपालीलाई अमेरिकाबाट निष्कासित गरिएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता सो अवधिमा ३ सय ६ जना नेपालीलाई अमेरिकाबाट निष्कासित गरिएको हो । सन् २०२५ जनवरीदेखि अक्टोबरसम्मको अवधिमा गैरकानुनी रुपमा अमेरिकामा बसोबास गर्दै आएका नेपालीलाई निष्कासित गरिएको हो ।

निष्कासित हुनेमध्ये २ सय ६० पुरुष र ४६ महिला छन् । उनीहरूलाई अमेरिकाबाट चार्टर विमानमार्फत भारत, कतार हुँदै काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागलाई बुझाइएको थियो ।

यूएस इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट आइसले गैरकानुनी रुपमा अमेरिकामा बसोबास गर्दै आएका आप्रवासीको खोजी र अनुसन्धानलाई कडाइका साथ तीव्रता दिएसँगै निष्कासित हुने नेपालीको संख्या वृद्धि भएको छ ।

१० महिनाको अवधिमा नेपालीसँगै २० लाख गैरकानुनी आप्रवासी अमेरिकाबाट निष्कासित भइसकेको दाबी गरिएको छ । १६ लाखले स्वतःस्फूर्त रूपमा अमेरिका छोडेको र ४ लाखलाई नियन्त्रणमा लिएर निष्कासन गरिएको अमेरिकी अध्यागमनसम्बन्धी उच्च निकाय होमल्याण्ड सेक्युरिटीले दाबी गरेको छ ।


प्रतिक्रिया