कालीकोटका पहिरो पीडितलाई प्रदेश सरकारले ४ लाख राहत दिने

श्रावण १६, २०७७ | कालीकोट

– कालीकोटका पहिरो पीडितलाई प्रदेश सरकारले ४ लाख नगद राहत र बस्न घर निर्माण गरी दिने भएको छ । पहिरो प्रभावित क्षेत्रको अनुगमन गर्न कालीकोट पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संघीय सरकारको तर्फबाट २ लाख र कर्णाली प्रदेश सरकारको तर्फबाट विपद् विमाबाट थप दुई लाख गरी ४ लाख एकमुष्ट राहत रकम दिने बताउनु भएको हो ।

 कर्णाली प्रदेश सरकारले प्रदेश भित्रका सबै नागरिकको विपद् विमा गरेको छ । गृह मन्त्रालयले बाढी पहिरोलगायतका विपद्बाट मृत्यु भएकालाई प्रति ब्यक्ति एक लाख दिने निर्णय परिवर्तन गरेर दुई लाख दिने निर्णय गरेको छ । 

भिरालो भूभाग भएको कालीकोटमा असार यता मात्र बाढीपहिरोमा परि २१ जनाको मृत्यु भएको छ भने ६ जना अझै बेपत्ता छन् । जिल्ला विपद् ब्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रजिअ चन्द्रप्रसाद गैरेले जिल्लाभर डेढ सय बढी घर परिवार पहिरोको डरले विस्थापित भएको जानकारी दिनुभयो । 


प्रतिक्रिया