गाईजात्रा पर्व मनाईदै

श्रावण २०, २०७७ | काठमाडौं

भाद्र कृष्ण प्रतिपदाका दिन आज नेवार समुदायले दीवंगत आफन्तको सम्झना गर्दै गाईजात्रा पर्व मनाउदैछन् । काठमाडौँ उपत्यकामा बढी प्रचलन भए पनि नेवार समुदायको बसोबास भएका सबै जसो जिल्लामा यो जात्रा मनाउने चलन छ । 

पर्वको अवसरमा काठमाडौं उपत्यकामा आज सार्वजनिक बिदा दिइएको छ । सरकारले ज्येष्ठ नागरिक र बालबालिकालाई भीडभाडमा नल्याउन अनुरोध गरिसकेकाले विगत झैँ यस बर्षको गाईजात्रा तामझामका साथ नहुने भएको छ । सरकारले बालबालिकालाई घर बाहिर निस्कन रोक लगाएपछि सांस्कृतिक रूपमा टोल छिमेकमै जात्रा मनाइनेछ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले आफ्नै टोल छरछिमेकमा सानो संख्यामा जम्मा भएर सतर्क हुँदै पर्व मनाएर संस्कृति संरक्षण गर्न आग्रह गरेको बताउनुभयो ।

भक्तपुरमा प्रतियोगितात्मक रूपमा हुँदै आएको यो जात्रा सामान्य साङ्केतिक रूपमा मात्र मनाइने भएको छ । ज्यापूू महागुठी र पाटनमा ज्यापूू समाजले पनि साङ्केतिक रूपमा मात्र जात्रा मनाउन आग्रह गरेका छन् ।

तत्कालीन राजा प्रताप मल्लका छोरा चक्रवर्तेन्द्रको मृत्युबाट भावविह्वल रानी भुवन लक्ष्मीलाई सान्त्वना दिन वर्ष दिनभित्र मानिस मरेका घरबाट गाईजात्रा निकाल्न लगाएको र यसले कालान्तरमा जात्राको रूप लिएको इतिहासमा उल्लेख छ । 


प्रतिक्रिया