घलेगाउँ भदौ १ गतेदेखि पर्यटकका लागि खुला

श्रावण २०, २०७७ | लमजुङ

स्मार्ट भिलेजको नामले चिनिएको लकजुङको घलेगाउँ भदौ १ गतेबाट पर्यटकका लागि खुला गरिने भएको छ । कोरोना भाइरसको (कोभिड–१९) संक्रमण नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेयता घलेगाउँमा पर्यटक आमगन ठप्प छ । 

कोरोना संक्रमण फैलिन नदिन गाउँ भेलाले होमस्टेमा पर्यटक राखेमा २० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना तोकेको थियो । सरकारले लकडाउन हटाएको अवस्थामा जिल्लाका पर्यटकलाई घुम्ने अवसर दिइने पर्यटन व्यवस्थापन समिति ग्रामीण पर्यटन घलेगाउँका अध्यक्ष प्रेम घलेले बताउनुभयो ।

‘मास्क लगाउने, स्यानिटाइजर लगाउने, साबुन पानीले पटक–पटक हात धुने, भौतिक दूरी कायम गरी बस्ने, एउटा कोठामा २ जना मात्रै बस्न मिल्ने गरी हामीले भदौ १ गतेदेखि होमस्टे खोल्छौं’ उहाँले भन्नुभयो, ‘सुरुमा जिल्लाबासीलाई खुला गरेका छौं । त्यसपछि विस्तारै प्रदेशबासीका लागि खोल्छौं । संक्रमित फैलिएको ठाउँबाट भने तत्काल आउन दिदैनौं ।’ 

पर्यटकका लागि कोठाको क्षमता आधा प्रयोग गरिनेछ । उहाँका अनुसार होमस्टे कार्यक्रम सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्डभित्र राहेर सञ्चालन हुनेछ । उहाँका गाउँ आउने पाहुनालाई स्थानीय स्वास्थ्यकर्मीले स्वास्थ्य जाँच गराएपछि मात्रै होमस्टे प्रवेश दिइनेछ । कोरोना संक्रमणको लक्षण देखिनेलाई होमस्टे प्रवेश दिइने छैन ।

ग्रामीण पर्यटन लामो समय बन्द हुँदा होमस्टे सञ्चालक समस्यामा परेको समितिका सचिव उमलबहादुर विकले बताउनुभयो । उहाँका अनुसार घरघर र पाहुनालाई स्वास्थ्य सुरक्षा सावधानी अपनाउँदै भदौ १ गतेबाट जिल्लाबासी पर्यटकलाई गाउँ घुम्न आउन दिने निर्णय गरिएको छ । उहाँले भन्नुभयो, ‘कोरोना त्रास छँदैछ । स्वास्थ्य सुरक्षाको सावधानी अपनाएर पर्यटकलाई भदौ १ गतेदेखि गाउँ भित्र्याउँछौं ।’

घलेगाउँ घुम्न परिवार नै आएमा परिवार सबै एउटै घरमा राखिने उनीहरुले बताएका छन् । गाउँमात्रै खुला गरिएको र गाउँमा स्थानीय जनजीवन मात्रै हेर्न पाइनेछ । भीडभाडलाई बन्देज लगाइएको छ । परम्परागत गुरुङ संस्कृति झल्कने घाँटु, सोरठी, सेर्का, कृष्णचरित्र, घ्याब्रे लगायत नाच भने तत्काल प्रदर्शन नगरिने निर्णय गाउँलेले गरेको समितिका कार्यालय सचिव दीर्घ घलेले बताउनुभयो ।

घलेगाउँमा पर्यटकलाई एक रातको प्याकेज १ हजार रुपैयाँ पर्छ । यसमा भने कुनै फेरबदल नहुने पर्यटन समितिले जनाएको छ । घलेगाउँबासीले २०५७ बाट घरबास कार्यक्रम सुरु गरेको हाल होमस्टेको संख्या ३७ पुर्‍याएको छ । घले र गुरुङको बाहुल्य रहेको घलेगाउँमा ९३ घर घले र गुरुङका र ३२ घर विकका गरी १ सय २५ घर छ । 

समुद्री सतहदेखि २ हजार १ सय मिटर उचाईको घलेगाउँमा संग्रहालय, चियाबारी, क्व्होइाबो, गोर्खा पार्क, गुरुङको अन्तिम राजा क्लाम्बोरोजाक्लेको शालिक, सातकन्या मन्दिर, कुवा, विभिन्न फाँट, परम्परागत घर, गाउँले परम्परा र जनजीवन देख्न सकिन्छ । घलेगाउँबाट वरपरका गाउँ साथै पश्चिमदेखि पूर्वसम्म दर्जन हिमश्रृंखला देख्न सकिन्छ । घलेगाउँ बेंसीसहरबाट २४ किलोमिटरको दूरीमा पर्छ । बेंसीसहरबाट २ घण्टामा घलेगाउँ पुग्न सकिन्छ ।


प्रतिक्रिया