मोरङमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

श्रावण २१, २०७७ | मोरङ

कोरोना भाइरसको संक्रमणबाट बुधबार मोरङमा थप दुई जनाको मृत्यु भएको छ । विराटनगरस्थित कोशी अस्पतालको आइसोलेशन सेन्टरमा उपचाररत दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । 

विराटनगर महानगरपालिका–९ का ४५ वर्षीय पुरुष र रंगेली नगरपालिका–८ का अर्का ४५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका प्रवक्ता डा. लक्ष्मीनारायण यादवले बताउनुभयो ।

मंगलबार राति साढे १० बजे स्वास फेर्न गाह्रो भएर अस्पताल पुगेका विराटनगरका पुरुष मधुमेह र उच्च रक्तचापबाट पीडित थिए । यस्तै, रंगेली–८ का पुरुषको आज बिहान साढे ९ बजे अस्पताल पुर्‍याए लगत्तै मृत्यु भएको यादवको भनाई छ । 

दुबै जनाको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको डा. यादवले जानकारी दिनुभयो । दुबै जनाको शव कोशी अस्पतालको आइसोलेशनमा छ । योसँगै मोरङमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ । यसअघि विराटनगर ५ का ७७ वर्षीय पुरुष र सुनवर्षी–८ का ४५ वर्षीय पुरुषको मृत्यु भइसकेको छ ।  

विराटनगरमा समुदायमा संक्रमण फैलिएका कारण दिन प्रतिदिन संक्रमितको संख्या बढ्दै गएको छ । विराटनगरमा बुधबार थप १० जनामा संक्रमण पुष्टि भएको छ । योसँगै महानगरमा संक्रमितको संख्या १ सय ६८ पुगेको छ । महानगरमा मात्रै दुई जना संक्रमितको मृत्यु भइसकेको छ । 

पछिल्लो समय लक्षण सहितका बिरामी थपिंदै गएको विराटनगर महानगरका जनस्वास्थ्य महाशाखाका मोहम्मद हैदर अलीले बताउनुभयो । महानगरले शुक्रबारदेखि नै दुई साताका लागि लकडाउन गरेको छ । महानगरमा लकडाउन सफल पार्न सुरक्षाकर्मीले सर्वसाधारण र पसलेहरुलाई कडाई गर्न थालेका छन् ।

आइसोलेसन वार्डको अभावमा संक्रमण पुष्टि भएका बिरामीहरु होम आइसोलेसनमा बस्न बाध्य रहेको महानगरकी उपप्रमुख इन्दिरा कार्कीले बताउनुभयो । उहाँले मंगलबार संक्रमण पुष्टि भएका १२ जना होम आइसोलेसनमा रहेको उहाँले जानकारी दिनुभयो ।

यस्तै, रंगेलीमा सोमबार एकै परिवारका १४ गरी २२ जनामा संक्रमण पुष्टि भएपछि नगरपालिकाले रंगेली बजार सिल गरेको छ । आइसोलेसन र कोभिड–१९ अस्पतालमा संक्रमित भरेपछि दुई दिनदेखि संक्रमितलाई क्वारेन्टिनमा राख्न बाध्य भएको रंगेलीका स्वास्थ्य शाखा प्रमुख भुपेन्द्रप्रसाद मण्डलले बताउनुभयो । जिल्लामा हालसम्ममा ४ सय १२ जनामा संक्रमण पुष्टि भइसकेको छ जसमा २ सय ३९ जना संक्रमण मुक्त भएर घर फर्किसकेका छन् । 


प्रतिक्रिया