विद्यार्थीले कक्षा ११ को परीक्षाका लागि बुझाएको शुल्क समायोजन हुने

श्रावण २१, २०७७ | काठमाडौं

– कक्षा ११ को वार्षिक परीक्षामा सहभागी हुन राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीबाट लिएको रकम कक्षा १२ मा समायोजन हुने भएको छ । विद्यार्थीहरूले सम्बन्धित विद्यालयमार्फत बोर्डमा बुझाएको परीक्षा शुल्क ६ सय मध्ये ४ सय रुपैयाँ कक्षा १२ को परीक्षामा समायोजन गर्ने बोर्डले जारी गरेको सूचनामा उल्लेख छ । त्यसमध्ये परीक्षा सञ्चालनको तयारीमा भएको खर्च बापत २ सय रुपैयाँ कट्टा हुने सूचनामा उल्लेख छ । 

बोर्डले नियमित परीक्षार्थीका हकमा आगामी वर्ष सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षा शुल्कमा समायोजन गर्ने र आंशिक/ग्रेड वृद्धि परीक्षार्थीहरूका हकमा बोर्डले सञ्चालन गर्ने वार्षिक परीक्षामा सहभागी हुने भएमा सोही परीक्षा शुल्कमा समायोजन गर्ने जनाएको छ । 

परीक्षामा सहभागी हुन नपर्ने विद्यार्थीहरूका हकमा कक्षा १२ को प्रमाण–पत्रको शुल्कमा समायोजन गर्ने निर्णय भएको परीक्षा नियन्त्रकद्वारा जारी सूचनामा उल्लेख छ । यस पटकदेखि कक्षा ११ को वार्षिक परीक्षा विद्यालयले नै सञ्चालन गर्ने सरकराले यसअघि नै निर्णय गरीसकेको छ ।


प्रतिक्रिया