आइसोलेशन अभावमा कोरोना संक्रमित ४ दिनदेखि घरमै

भाद्र १०, २०७७ | रुकुम पश्चिम

आइसोलेशेन वार्डको अभावमा रुकुम पश्चिमका ६ जना कोरोना संक्रमित घरमै बस्न बाध्य छन् । गत आइतबार संक्रमण पुष्टि भएका मध्य ६ जना आ–आफ्नै घर बसेका छन् । गत आइतबार मुसीकोट नगरपालिकाका केही कार्यालय र सर्वसाधारण गरी १५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । 

संक्रमित मध्येका ६ जना घरमै छन् । ५ जना कार्यालयमा बसेका छन् भने ४ जनालाई मात्रै जिल्ला अस्पतालले बनाएको आइसोलेशनमा राखिएको छ । एक कार्यालय प्रमुख सहित ४ जना एउटा कार्यालयमा बसेका छन्, एक जना अर्को कार्यालयमा बसेका छन् । 

दुई दम्पती आ–आफ्नै घरमा छन् भने अरु २ जना पनि आफ्नै घरमा छन् । आइतबार तीन वटा कार्यालयका १० जना, ३ प्रहरी र २ जना सर्वसाधारणमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमित घरमा हुँदा टोल तथा गाउँमा त्रास फैलिएको छ ।

आइसोलेशन वार्डको अभावमा सबैलाई एकै पटक राख्न समस्या भएको स्वास्थ्य सेवा कार्यालयका कोरोना रोग नियन्त्रण फोकल पर्सन इश्वर रावलले बताउनुभयो । आइसोलेशन वार्ड व्यवस्थापनको काम भइरहेकाले ढिला भएको भन्दै उहाँले घरमा बसेकाहरु पनि सुरक्षित रहेको बताउनुभयो । 

जिल्ला अस्पतालको आइसोलेशनमा हाल १० जना बसेका छन् । मुसीकोट नगरपालिकाले एक निजी अस्पताललाई नै आइसोलेशन सेन्टर बनाएको छ । 

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरवीर खड्काले आइसोलेशनको व्यवस्थापन गरिसकेकाले अब छिट्टै सबैलाई आइसोलेशनमा राखिने बताउनुभयो । ५० जना भन्दा बढीलाई राख्न मिल्ने गरी आइसोलेशन वार्ड तयार पारिएको खड्काले जानकारी दिनुभयो । 


प्रतिक्रिया