रौतहटमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि

भाद्र १०, २०७७ | रौतहट

रौतहटमा बुधबार थप १२ जनामा कोराना भाइरसको संक्रमण पुष्टि भएको छ । उनीहरु सबै समुदायका हुन् । दुई दिन यता जिल्लामा ४८ जनामा संक्रमण पुष्टि भएको छ । 

जिल्लाको कटहरीया नगरपालिकाका ७ जना, चन्द्रपुर नगरपालिकाका ४ जना र माधवनारायण नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गौरका फोकल पर्सन हरेन्द्र गुप्ताले बताउनुभयो । जिल्लामा पछिल्लो दुई साता यता समुदायस्तरमा पनि संक्रमण देखिन थालेको छ ।

स्वास्थ्य कार्यालयका अनुसार मंगलबार ३६ जनामा कोरोना पुष्टि भएको थियो । गरुडा नगरपालिकाका १६ जना, गढीमाई नगरपालिकाका ६ जना, मौलापुरका ५ जना, गौर नगरपालिकाका ५, चन्द्रपुरमा २ तथा गुजरा र माधावनारायण नगरपालिकाका १/१ जनामा संक्रमण देखिएको हो । 

संक्रमण पुष्टि भएकाहरु सबै कन्ट्याक ट्रेसिङ्गमा परेकाहरु हुन् । संक्रमित मध्ये गुजरा नगरपालिका–६ का वडा अध्यक्षलाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

जिल्ला प्रशासन कार्यालयको तथ्यांक अनुसार जिल्लामा बुधबारसम्म संक्रमितको संख्या १ हजार ५ सय ६६ पुगेको छ । संक्रमित मध्ये १ हजार ४ सय १ जना संक्रमण मुक्त भएर घर फर्किसकेका छन् । 

अहिले आईसोलेशनमा १ सय ६ जना बसेका छन् । त्यस्तै क्वारेन्टिनमा ८१ जना बसेका छन् । समुदायस्तरमा संक्रमण देखिन थालेपछि स्थानीय प्रशासनले गत साउन २४ गतेदेखि भदौ १४ गतेसम्म निषेधाज्ञा जारी गरेको छ । 


प्रतिक्रिया