इलामको सलकपुर र समालबुङमा सशस्त्र बीओपी स्थापना

भाद्र १६, २०७७ | इलाम

सीमा सुरक्षाका हिसाबले संवेदनशील मानिएको इलामका पूर्वी २ स्थानमा सशस्त्र प्रहरी बलको बेर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएको छ । राज्यको उपस्थिति कमजोर हुँदा वर्षैदेखि विभिन्न समस्या झेल्दै आएको क्षेत्रमा सशस्त्रको बीओपी स्थापना गरिएको हो । 

इलामको रोङ गाउँपालिका–६ को सलकपुर र सूर्योदय नगरपालिका–५ समालबुङमा सशस्त्र प्रहरीको बीओपी स्थापना गरिएको हो । सीमापारी भारतसँग विभिन्न उद्देश्यमा नियमित गतिविधि हुने यस क्षेत्रमा अवैध धन्दा नियन्त्रण र सीमा सुरक्षाका लागि पोष्ट स्थापना गरिएको हो । 

जिल्लाको रोङ गाउँपालिकाको तिरीङदेखि सन्दकपुर गाउँपालिकाको सन्दकपुर डाँडासम्मको ५२ दशमलव ५ किलोमिटर क्षेत्रका विभिन्न स्थानमा ७ वटा बीओपी राख्ने तयारी वर्षौदेखि थालिए पनि ढिलाई हुँदै आएको छ । यसअघि पशुपतिनगरमा रहेको बीओपीले सबै सीमा क्षेत्रको अवलोकन गर्न कठिनाई हुँदै आएको थियो ।

दुबै स्थानका बीओपी उद्दघाटन गर्दै सशस्त्र प्रहरी बल नम्बर १ बराह बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक वंशीराज दाहालले सीमा क्षेत्रमा स्थापना भएका बीओपीले सीमानाको रक्षा गर्नुका साथै स्थानीयलाई सुरक्षाको अनुभूति हुने गरी काम गर्न जिल्लामा कार्यरत सशस्त्र प्रहरीलाई निर्देशन दिनुभयो । 

सशस्त्र प्रहरी बल इलामका सशस्त्र प्रहरी उपरिक्षक सुधिर जंग थापाले आगामी कात्तिक महिना भित्रमा नेपाल भारत सीमा क्षेत्रको छब्बीसे, जौबारी, कालपोखरी र सन्दकपुरमा थप ४ वटा बिओपी स्थापना गरिने जानकारी दिनुभयो । 


प्रतिक्रिया