जिल्ला अस्पताल गुल्मीका मेसुलाई कोरोना पुष्टि

रेडियो कान्तिपुर संवाददाता

आश्विन ८, २०७७ | रूपन्देही

जिल्ला अस्पताल गुल्मीका मेडिकल सुपरिटेण्डेन्ट डा. उत्तम पच्यालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गुल्मीको रेसुंगा नगरपालिकाले सञ्चालन गरेको आइसोलेसनमा खटिएका डा. पच्यालाई संक्रमण देखिएको

रुघाखोकी, ज्वरोसहित कोरोनासँग मिल्दा लक्षण देखिएपछि उनले बुधबार पीसीआर परीक्षणका लागि स्वाबको नमूना संकलन गरिएको थियो । उनीसहित रुरु गाउँपालिकामा संकलन गरिएका स्वाबको नमूना गुल्मीको कोभिड–१९ परीक्षण ्रयोगशालामा पहिलो परीक्षण गरिएकोमा बिहीबार संक्रमण देखिएको हो । 

चार/पाँच दिनदेखि ज्वरो आएपछि स्वाब दिएको र परीक्षण गर्दा पोजेटिभ देखिएको उहाँले जानकारी दिनुभयो । कोरोनासँग मिल्दो लक्षण देखिएपछि हिजोदेखि नै होम आइसोलेसनमै बसेको पनि डा. पच्याले जानकारी दिनुभयो । 

डा. पच्या जिल्ला अस्पतालका बिरामीको उपचारमा चौबिसै घण्टा खटिंदै आउनु भएको थियो । डा. पच्याको पहलमा जिल्ला अस्पतालमै जटिल प्रकृतिका उपचार र शल्यक्रिया समेत हुने गरेका छन् ।

अस्पतालका डाक्टरमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालका अन्य स्वास्थ्यकर्मी र कर्मचारीको पनि स्वाब संकलन गर्न थालिएको रेसुंगा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले बताउनुभयो । 

एक साता अघि परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जिल्लामै स्वाब परीक्षण गर्ने गरी पीसीआर मेसिन उपलब्ध गराउनु भएको थियो । त्यही मेसिन जडान भएर हिजो देखि नै परिक्षण सुरु भएको थियो । 

पहिलो पटक ३६ जनाको स्वाब परीक्षण गरिएकोमा डा. पच्यासहित १६ जनाको रिपोर्ट पोजेटिभ आएको गुल्मी कोभिड–१९ परीक्षण प्रयोगशाला प्रमुख लक्ष्मण पन्थीले बताउनुभयो । स्थानीय तहमा स्वाब संकलन भइरहेकाले अब नियमित परीक्षण हुने उहाँले जानकारी दिनुभयो । 


प्रतिक्रिया