चितवन निकुञ्जमा बाघ र गैंडा मृत फेला

वैशाख २५, २०८१

चितवन निकुञ्ज क्षेत्रमा एकै दिन बाघ र गैंडा मृत भेटिएका छन् । निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको नवलपरासी कावासोती–१५ को गुन्द्रेही ढकाहा मध्यवर्ती सामुदायिक वनमा एउटा भाले गैंडा मृत भेटिएको छ । सो गैंडा प्राकृतिक कारणले मरेको चितवन निकुञ्जका सूचना अधिकारी रहेका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले बताउनुभयो ।

निकुञ्ज कार्यालय र निकुञ्जमा तैनाथ नेपाली सेनाको नयाँ गोरख गणको संयुक्त गस्तीले आज नै निकुञ्जभित्र भिमपुर क्षेत्रमा एउटा पाटे बाघ मृत फेला पारेको छ । सो बाघ पनि प्राकृतिक कारणले मरेको संरक्षण अधिकृत तिवारीले बताउनुभयो । चितवन निकुञ्ज नेपालमा एकसिंगे गैंडा र पाटे बाघको मुख्य बासस्थल हो । यो आर्थिक वर्षमा हालसम्म निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रमा २१ गैंडा र ६ वटा पाटे बाघको मृत्यु भइसकेको तथ्याङ्क छ । 


प्रतिक्रिया